यसैबीच गृह मन्त्रालयले आज प्रेस विज्ञप्ति जारी गर्दै बालिका निर्मला पन्तको मृत्युको विषयलाई लिएर कञ्चनपुरमा भइरहेको विरोध प्रदर्शनलगायतका घटनाहरुको सम्बन्धमा गृह मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । विज्ञप्तिमा साउन १० गते साँझ निज बालिका घर परिवारको सम्पर्कमा नआएको प्रहरीलाई जानकारी हुनासाथ खोजतलास गर्ने क्रममा साउन ११ गते बिहान बालिकाको शव फेला परेको उल्लेख छ ।
घटनाको गम्भीरतालाई दृष्टिगत गरी घटना घटेको मितिदेखि नै स्थानीय प्रहरीले अनुसन्धान गरिरहेकोमा गृह मन्त्रालयको निर्देशनमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोबाट प्रहरी नायव उपरीक्षक नेतृत्वको विशेष अनुसन्धान टोली अनुसन्धान कार्यलाई तीव्रता दिन खटाइएको विज्ञप्तिमा उल्लेख छ । अनुसन्धान टोलीले तत्काल देखिएको प्रमाणका आधारमा भीमदत्त नगरपालिका– १९ का दिलीपसिंह विष्टलाई भदौ ५ गते पक्राउ गरी थप अनुसन्धानसमेत भइरहेको छ । उक्त घटनाको अनुसन्धानमा नेपाल प्रहरीका अतिरिक्त अन्य सुरक्षा निकाय तथा विशेष दक्ष जनशक्तिसमेत परिचालित भइरहेको गृह मन्त्रालयले जनाएको छ ।
विज्ञप्तिमा भनिएको छ , ‘‘ राज्य कहिले पनि अपराधी र अपराधमैत्री हुन सक्दैन र भएको पनि छैन । स्थानीय प्रशासन तथा प्रहरीले समग्र नागरिकको जीउधन एवं सार्वजनिक सम्पत्तिको संरक्षण गरी जनजीवनलाई सामान्य वनाइ राख्न कानून प्रदत्त अधिकार प्रयोग गर्नु नै पर्ने हुन्छ ।” स्थितिलाई संयमित बनाइराख्न सहयोग गर्नु सबैको कर्तव्यसमेत भएकोले यसमा सबैको सहयोगको लागि गृह मन्त्रालय हार्दिक अपिल गर्दछ ।
बालिका मृत्युको निन्दनीय घटनाप्रति पुनः दःुख व्यक्त गर्दै यस प्रकारका जघन्य अपराधमा संलग्न जो कोहीलाई पनि कानूनी कारवाही हुने र अनुसन्धान कार्यमा संलग्न पदाधिकारीबाट समेत यदि कुनै कमीकमजोरी गरे गराएको पाइएमा कानूनअनुसार कडा कारवाही गरिने विषयमा गृह मन्त्रालय सदैव प्रतिवद्ध रहेको मन्त्रालयले जनाएको छ । समस्याको समाधान शान्तिपूर्ण र विधिसम्मत ढङ्गबाट हुने नै हुँदा शान्ति सुव्यवस्था कायम राखी थप जनधनको क्षति हुनबाट रोक्न आ–आफ्नो स्थानबाट सहयोग गर्न समेत सम्बद्ध सबैमा गृह मन्त्रालयले अनुरोध गरेको छ ।
प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुख फेरिए
सोही घटनाको कारण गृह मन्त्रालयले कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुख परिवर्तन गरेको छ । कञ्चनपुरमा नयाँ प्रजिअको रुपमा सहसचिव तारानाथ अधिकारीलाई पठाइएको छ । गृह मन्त्रालयको विज्ञप्तिमा कञ्चनपुरमा कार्यरत प्रमुख जिल्ला अधिकारी, जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक तथा प्रहरी नायब उपरीक्षकलाई तत्काल फिर्ता बोलाई निजहरुको स्थानमा नयाँ पदाधिकारीसमेत खटाइसकिएको जनाएको छ ।
-रासस÷सिन्ह्वा
Comments
Post a Comment