
झापामा यौनजन्य अपराधका घटनामा वृद्धि भएसँगै प्रहरीले विशेष सुरक्षा रणनीति बनाएर कार्वाही अगाढि बढाएको छ ।
महिलामाथि हुने यौनजन्य अपराधका नियन्त्रण गर्न प्रहरीले यस्तो योजना ल्याएको हो । जसका लागि जिल्लाका विभिन्न स्थानमा २३५ प्रहरी टोल टोलमा परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक भीमप्रसाद ढकालले जानकारी दिएका छन् ।
टोलीले यौनजन्य अपराधका घटना र यसको कारक तत्वको खबर संकलन गरी विश्लेषण गर्ने, यौनजन्य घटना घटाउने अभियुक्तलाई तत्काल पक्राउ गरी हदैसम्मको सजाय दिलाउने, विशेष सुरक्षा परिचालनमार्फत पीडितका आफन्त र आम नागरिकको सुरक्षाको थप अनुभूति दिने लगायतका उद्देश्य राखेको छ । ढकालका अनुसार सो कार्यका लागि सादा पोशाकमा ५०, मोटरसाइकल गस्तीमा एक सय जना, तलासी लिने टोलीमा ३५ जना, पैदल गस्तीमा ३५ र अनुसन्धान टोलीमा १५ जना रहने गरी प्रहरी परिचालन गरिएको छ । सोही अभियान अन्तर्गत एक महिनाका लागि २१५ प्रहरी फिल्डमा छन् ।
गएको वर्ष धेरै महिला बलात्कृत २०७२ सालयता झापामा सबैभन्दा धेरै महिला आर्थिक वर्ष २०७४÷०७५ मा बलात्कृत भएका छन् । प्रहरीको पछिल्लो चार वर्षको तथ्याङ्क अनुसार आर्थिक वर्ष ०७१÷०७२ मा जिल्लामा ४७ वटा जबरजस्ती करणीका मुद्दा दर्ता भएका थिए । करणी उद्योग अन्तर्गत ३८ वटा मुद्दा दर्ता भएका थिए । त्यस्तै २०७२÷०७३ मा जबरजस्ती करणीका ५३ वटा मुद्दा दर्ता भए भने उद्योगमा १९ र २०७३÷०७४मा ५७ वटा जबरजस्ती करणीका मुद्दा दर्ता भएका थिए । त्यस्तै, १६ वटा करणी उद्योगका मुद्दा दर्ता भएको प्रहरीको तथ्याङ्कमा उल्लेख छ ।
यता २०७४-०७५ मा मात्रै ९९ वटा जबरजस्ती करणीका मुद्दा दर्ता भएका छन् भने ३४ वटा जबरजस्ती करणी उद्योगका मुद्दा दर्ता भएका छन् । प्रहरीको चार वर्षे तथ्याङ्क अनुसार चार वर्षकै धेरै महिला २०७४–०७५ मा बलात्कृत भएको उल्लेख छ ।
पुरुषले महिलालाई बलात्कार गरेको उजुरी प्रहरीमा पर्ने गरे पनि गत वर्ष जिल्ला प्रहरी कार्यालय झापामा महिलाले पुरुषलाई बलात्कार गरेको उजुरी परेको थियो । जिल्ला प्रहरी कार्यालयको तथ्याङ्क अनुसार जवरजस्ती करणी मुद्दामा १०६ जना पुरुष र एक महिला प्रतिवादी भएको उल्लेख छ । महिलाले पुरुषलाई बलात्कार गर्ने मुद्दा यदाकदा प्रहरी कहाँ पर्ने गरेको जनाइएको छ ।
Comments
Post a Comment