मोदी आउने बाटोमा लुकाइयो तीनकुने पार्क, जोगियो लाज ! (भिडियोसहित)

मोदी आउने बाटोमा लुकाइयो तीनकुने पार्क, जोगियो लाज ! (भिडियोसहित)

काठमाडौं : विमिस्टेक सम्मेलनको रौनकले काठमाडौं रंगिएको छ । त्यसमा पनि देशको एकमात्र अन्तराष्ट्रिय विमानस्थलको छेउमै रहेको तीनकुने पार्क बिहेकी बेहुली झैं चिटिक्क पारिएको छ ।

तीनकुने पार्क भएर विशिष्ट पाहुनाहरूको सवारी कुँद्ने भएकोले हरेक यस्ता महत्वपूर्ण अवसरमा तीनकुने पार्कको स्वरुप केही दिनकै लागि भएपनि चमत्कारिक ढंगले फेरिन्छ ।

तर विचरा तीनकुने पार्कको अन्तरकथा वेग्लै छ । कति विशिष्ट पाहुनाहरु आए, गए तर यो पार्कले उनीहरुलाई देख्नै पाएको छैन ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी एकै बर्षमा कति पटक आए र गए, तर तीनकुने पार्कले उनको अनुहारसम्म देख्न पाएन । आजको आगमनलाई समेत जोड्दा भारतीय प्रधानमन्त्री मोदीको यो चौथो भ्रमण हो ।

देशको एकमात्र अन्तराष्ट्रिय विमानस्थलको छेउमै भएकोले नेपाल आउने जोसुकै विशिष्ट पाहुनाका लागि यो तीनकुने पार्क फन्को मारेर जानुको विकल्प छैन ।

विमिस्टेक सम्मेलनका लागि मोदी मात्रै हैन, उनीसँगै विमिस्टेक सदस्य देशका सरकार प्रमुखहरु पनि आएका छन् ।

तर दुर्भाग्य ती पाहुनाहरुकाे नजर छलाउन तीनकुने पार्कमा उही पुरानै प्रपञ्च रचिएको छ । जस्ता पाताले घेरेर तीनकुनेलाई कैद गरिएको छ ।

काठमाडौं छिर्ने वित्तिकै तीनकुने पार्कलाई देख्यो भने साइत बिग्रने डर सत्ताका शासकहरुलाई छ । उनीहरु ठान्दछन् यो कुरुप पार्कले देशको र सत्ताको लाज उडाउँछ रे । त्यसैले आफ्नो लाज छोप्न हरेक शासकले तीनकुने पार्कलाई कहिले जाली कपडाको सप्कोले कहिले जस्ता पाताले छोपेर कैद गरिदिन्छन् ।

दुई तिहाइको ओली सरकार बेनेपछि पनि तीनकुनेको लाज छोपिएको यो पहिलो पटक हैन । एउटा पार्क व्यवस्थापन गर्न इच्छा शक्ति भए यो शक्तिशाली सरकारका लागि कति नै ठूलो विषय हो र । तर तीनकुने पार्कलाई खाँचो पर्दा शासकहरुले तत्क्षणको आफ्नो स्वादका लागि लागि सिंगार पटार गरिदिन्छन् र पाहुना गएपछि निवस्त्र पारिन्छदिन्छन् । पाहुना गएपछिको नवस्त्र पार्क देखेर शासकहरुको लाज लजाउँदैन ।

विमिस्टेक सम्मेलनका लागि आएका पाहुनाहरु यही पार्कको छेउ भएर कुँदेका छन् ।

तीनकुने पार्कको पीडादायि भित्रि यथार्थ उतार्न त्यहाँ पुगेर तयार पारिएको यो विशेष भिडियो सामग्री हेर्नुहोस्ः

Comments