
मोरङ, २ भदौ । विराटनगर महानगरका एक युवकले बिहे गर्न नमानेको निहुँमा प्रेमिकाको हत्या गरेका छन् ।
महानगर– १३ का ३० वर्षीय दिनेश भट्टराईले प्रेमिका २३ वर्षीया शिखा घिमिरेलाई शुक्रबार धारिलो हतियारले हानेर हत्या गरेका हुन् । कान्तिपुर दैनिकले समाचार छापेको छ ।
प्रहरीका अनुसार उनीहरू बिहानै घरबाट को १७ प १७२३ नम्बर स्कुटरमा घुम्न निस्किएका थिए । घुम्दै ग्रामथान–३ सिद्रहास्थित नहरछेउ पुगेपछि हत्या गरेको युवकको बयान उद्धृत गर्दै प्रहरी उपरीक्षक मनोज केसीले बताए ।
‘घिमिरेको अनुहार, घाँटी, टाउकोलगायत शरीरका विभिन्न भागमा काटेर नहरको डिलमा फालिएको थियो’, उनले भने, ‘शव चिन्नै नसकिने गरी अनुहारमा धारिलो हतियारले काटिएको छ ।’
प्रहरी उपरीक्षक केसीका अनुसार दुबैबीच प्रेमसम्बन्ध रहेको तर युवतीले बिवाह गर्न नमानेपछि हत्या गरेको युवकले बयान दिएका छन् ।
भट्टराईले शिखा केही दिनदेखि अर्कै केटासँग लागेको र केही दिनमै आफूलाई छाडेर अस्ट्रेलिया जान लागेकाले हत्या गरेको बताएका छन् ।
Comments
Post a Comment