नारायणी र राप्ती नदीमा घडियाल जोगाउन माछापालन

नारायणी र राप्ती नदीमा घडियाल जोगाउन माछापालन
रत्ननगर, १३ भदौ : नारायणी र राप्ती नदीमा घडियाल गोही जोगाउन मध्यवर्ती क्षेत्रका विपन्न समुदायलाई माछापालनमा सहयोग गरिएको छ । चितवन राष्ट्रिय निकुञ्ज नजिकको नदीमा मानवीय चाप घटाई संरक्षित वन्यजन्तु र तिनका आहाराका विभिन्न प्रजाति जोगाउन मध्यवर्ती क्षेत्रका बोटे, माझी, मुसहर तथा थारु समुदायलाई माछापालनमा आकर्षित गराइएको हो ।

यहाँका विपन्न र नदीमा आश्रित समुदायलाई सीप सिकाएर सक्षम बनाई आर्थिक सहयोग गरेर माछापालनमा सहभागी गराइएको राष्ट्रिय प्रकृति संरक्षण कोष चितवनका सूचना अधिकारी सन्तोष भट्टराईले जानकारी दिनुभयो ।

राष्ट्रिय प्रकृति संरक्षण कोष, जुलोजिकल सोसाइटी अफ लण्डन र हिमालयन नेचरको सहकार्यमा उक्त कार्यक्रम थालिएको हो । यहाँका केही स्थानमा माछापालन शुरु भइसकेको र केही स्थानमा यो वर्षदेखि माछापालन शुरु हुने भट्टराईको भनाइ छ ।

जगतपुरस्थित केरुङगा मध्यवर्ती क्षेत्रको दुई ठाउँ र नवलपुरको पिठ्यौली र देवचुलीको तीन ठाउँ गरी पाँच स्थानमा माछापोखरी निर्माण गरी स्थानीय विपन्न समुदाय माछापालनमा सहभागी भइसकेका छन् ।

यस्तै पूर्वी चितवनको कुमरोजस्थित दराइबोटे माछापालन समूह र सिर्जनशील माछापालन समूहले दराई बोटे तालमा माछापालन शुरु गरेका छन् । “एउटै पोखरीमा तीन तहमा माछा पाल्न सकिन्छ भन्ने उनीहरु धेरैलाई थाहा छैन, राष्ट्रिय प्रकृति संरक्षण कोषका रेञ्जर ऋषि सुवेदीले भन्नुभयो, “स्थानीय समुदायलाई सबै सीप सिकाएर माछापालनमा सरिक गराएका छौँ ।”

उनीहरुलाई माछापालनमा मत्स्य विकास केन्द्र भण्डारा चितवनले प्राविधिक सहयोग गरेको छ । तीनवर्षे कार्यक्रमअन्तर्गत उनीहरुलाई हरेक पोखरीमा रु पाँच लाख सहयोग गरिएको सुवेदीले बताउनुभयो ।

खैरहनी नगरपालिका–१२ की लक्ष्मी दराईले सीप सिकेपछि कुमरोजको दराइबोटे तालमा माछापालन थालेको बताउनुभयो । गरीब परिवारलाई माछापालनमा गरिएको सहयोग महत्वपूर्ण छ भन्दै उहाँले पोखरीमा माछापालन हुँदा नदीको माछा जोगिने र नदीमा हुने गोहीसमेत संरक्षण हुने बताउनुभयो ।

चितवन कठारका भैराम दराई र विकना चौधरीले माछापालन र गोही जोगाउने उपायको बारेमा जानकारी पाएको भन्दै गोही बचाउन समुदायलाई समेत गराउने गरेको बताउनुभयो ।

गोहीको मुख्य आहारा माछा हो । नदीमा मानवीय चाप बढ्दा माछाको अभावमा अतिसङ्कटापन्न अवस्थामा पुगेको घडियाल गोहीको अस्तित्व खतरामा पर्छ । त्यसैले स्थानीयवासीलाई वैकल्पिक आयआर्जनमा सहभागी गराई गोही जोगाउने कार्यक्रम थालिएको हो । संरक्षणकर्मीका अनुसार दुर्लभ पाटेबाघभन्दा घडियाल गोहीको २० गुणा बढी सङ्कटमा छ ।

नदी छेउका बासिन्दा माछा मार्न नदीमा जान्छन् । प्रयोगमा अनुमति नदिइएको तियारी जालको प्रयोगले माछामात्रै नभई जाल अड्किएर गोहीसमेत मरेको उदाहरण छ ।

त्यसैले यस्ता क्रियाकलाप रोक्न वैकल्पिक कार्यक्रम जरुरी रहेको बताउनुहुन्छ चितवन राष्ट्रिय निकुञ्जका सहायक संरक्षण अधिकृत वेद खड्का । उहाँले अझै नदीमा मानवीय चाप घटाउन नसकिएकोभन्दै चिन्ता प्रकट गर्नुभयो ।

सन् २०१६ को तथ्याङ्कअनुसार नेपालमा १९८ घडियाल गोही रहेकामा चितवन राष्ट्रिय निकुञ्ज आसपास नारायणी र राप्ती नदीमा मात्रै १६६ वटा घडियाल छ । रासस

Comments