गृहमन्त्रीलाई प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालको ब्रिफिङ, भने ‘अपहरणकारीसँग भिडन्त नै भएकै हो’


काठमाडौं, २४ साउन । सोमबार भक्तपुरमा दुई अपहरणकारी प्रहरी इन्काउन्टरमा मारिएको घटनाबारे गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले प्रहरी नेतृत्वसँग जानकारी लिएका छन्। ब्रिफिङको क्रममा प्रहरी अधिकारीहरुले मुठभेडमै अपहरणकारीहरु मारिएको बताएका छन्। प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल लगायतका अधिकारीले बिहीबार थापालाई बिफ्रिङ गरेका हुन्।

घटनाको बेला गृहमन्त्री थापा विदेशमा थिए। बुधबार नेपाल फर्किएपछि उनले यसबारे जानकारी लिएका हुन्। इन्काउन्टरमा मारिएका व्यक्तिका आफन्तले पक्राउ गरेर प्रहरीले गोली हानेको दाबी गरेका छन्।

आइतबार काँडाघारीबाट ११ बर्षिय बालक निशान खड्कालाई अपहरण गरी हत्या गरेका थिए। अपहरण र हत्या गर्ने गोपाल तामाङ र अजय तामाङ प्रहरी मुठभेडमा मारिएका थिए।

अगाडि पुग्यो महाशाखाको टोली

काठमाडौं प्रहरी परिसरको टोली गोपालको डेरामा पुग्नुअगावै आईएमईआई नम्बरकै माध्यमबाट मोबाइल ट्रेस गरेर अपराध महाशाखाको टोली ठिमी-९, बुद्धिवियाङ, नगदेशस्थित श्याम लबटको घरमा पुगिसकेको थियो । जहाँ गोपाल भाडामा बस्दै आएका थिए ।

गोपालको कोठा छेउमा बस्दै आएका प्रशन्न रिमालका अनुसार सादा पोशाकको प्रहरी टोलीले बिहानै आएर गोपालको कोठामा खोजतलास र गोपालसँगै रहेका अजयसँग समेत सोधपुछ गरेको थियो ।



‘बिहान धेरै कुटपिट भएपछि मान्छेहरु पनि भेला भएका थिए । एकजना आन्टीले सादा पोशाकको प्रहरीले धेरै कुटेपछि प्रहरीमा समेत खबर गर्नुभएको थियो’, रिमालले अनलाइनखबरसँग भने, ‘त्यसपछि उनीहरुले पट्टी बाँधेर गाडीमा राखेर दुबैलाई लगे ।’

त्यसबेलै सादा पोशाकका एक प्रहरी अधिकारीले ५ सय मिटरको दूरीमा रहेको लबटको निर्माणाधीन घरको जगमा उत्खनन् गर्न थाले, जहाँ बालक निशान खड्काको शव भेटियो ।

सादा पोशाकको टोलीले दुवैलाई लगिसकेपछि काठमाडौं परिसरको टोली तामाङको खाली कोठामा पुग्यो ।

कोठामा ताल्चा लगाइएको थियो । परिसरका प्रहरीले ढोका फोर्न खोजे, तर प्रहरीकै अर्को टोलीले शील गरेको घरबेटीबाट सुनेपछि उनीहरु कोठाभित्र पसेनन् । दुवैलाई सादा पोशाकका प्रहरीले उठाइसकेको थाहा पाएपछि परिसरको टोली ब्याक भयो ।

तर, त्यसको करिब एक घण्टापछि खबर आयो, ‘दुई अपहरणकारीहरु घ्याम्पेडाँडा नजिकै प्रहरी इन्काउन्टरमा मारिए !’

अपराध महाशाखाले भने पक्राउ गरेर लगेर इन्काउन्टर नगरिएको दाबी गर्दै आएको छ । मोबाइल ट्रेस गर्दै जाँदा प्रहरी टोलीले भेट्टाएको र आफूहरुमाथि नै जाइलागेपछि आत्मरक्षाका लागि गोली चलाउँदा दुबै मारिएको महाशाखाको दाबी छ ।

Comments