
पथरी / चेकमा लेखिएको रकम भन्दा १ लाख रुपियाँ बढी पैसा बैंकबाट निकालेर रन सुज इण्डष्ट्रिजका बजार प्रतिनिधि फरार भएका छन् । मोरङको पथरीशनिश्चरे १ का सुमन श्रेष्ठले गत असार २६ गते एनआइसी एसिया बैंकबाट भूक्तान लिने गरी १० हजार रुपियाँको चेक रन सुजका बजार प्रतिनिधि प्रकाश अधिकारीलाई दिनु भएको थियो ।
श्रेष्ठले चेकमा भुक्तान दिनु पर्ने अङ्क अक्षरमा लेख्न छुटाउनु भएको थियो । त्यही भूलको फाइदा उठाउँदै अधिकारीले चेकमा अक्षरमा एक लाख दश हजार रुपियाँ लेखी अङ्कमा १ थपेर १० हजारको चेकलाई १ लाख १० हजारको बनाउनु भएको थियो । एनआईसी एसिया बैंकको पथरी शाखाको ओभर ड्राफ चेक अधिकारीले उर्लाबारी शाखाबाट साट्नु भएको थियो ।चेक साट्दा अधिकारीले प्रेमप्रसाद अधिकारी नामको सवारी चालक अनुमति पत्रको प्रतिलिपि बैंकमा छोड्नु भएको छ ।
१० हजार रुपियाँ निकाल्नु पर्नेमा १ लाख १० हजार रुपियाँ निकालेको कुरा सोही दिन थाहा पाएपछि श्रेष्ठले तत्काल अधिकारीसँग सम्पर्क गरी १ लाख रुपियाँ फर्काइदिन आग्रह गर्नु भएको थियो । तर, अधिकारीले आलटाल गर्दै १ महिना कटाएपछि श्रेष्ठ मिडियाको सहयोग लिन बाध्य हुनु भएको हो । श्रेष्ठ पथरी बजारमा श्रीकृष्ण सुज सेन्टर सञ्चालन गर्दै आउनु भएको छ ।
Comments
Post a Comment