निर्मला हत्या प्रकरणः आजपनि रोकिएन महेन्द्रनगरमा प्रदर्शन



काठमाडौँः बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरको भीमदत्त नगरपालिकाकी १३ वर्षीया बालिका निर्मला पन्तको हत्याको विरोधमा आज पनि प्रदर्शन जारी छ । बिहीबार बिहानैदेखि प्रदर्शनकारीले प्रदर्शन गरिरहेका छन् । टायर बालेर सडक अबरुद्ध पारिएको छ ।

निर्मला पन्त हत्याको आरोपमा प्रहरीले एकजनालाई सार्वजनिक गरेपछि सुरु भएको आन्दोलन बिहीबार तेस्रो दिन हो । बुधबारसम्म महेन्द्रनगरमा मात्रै केन्द्रित आन्दोलन बिहीबार भने जिल्लाका अन्य क्षेत्रमा समेत सुरु भएको छ ।

प्रदर्शनकारीहरुले वास्तविक बलात्कारीलाई कारबाही हुनुपर्ने, शान्ती सुरक्षाको ग्यारेण्टी हुनुपर्ने, कञ्चनपुरका एसपीमाथि कारबाही हुनुपर्ने लगायतका माग राखेर प्रदर्शन गरिरहेका छन् ।

बिहीबार पनि बजार बन्द छन् भने यातायात र शिक्षण संस्था समेत सञ्चालन हुन सकेका छैनन् । आन्दोलन चर्कँदै गएपछि सुरक्षा व्यवस्था कडा पारिएको छ । सुरक्षाका लागि कैलालीबाट पनि थप सुरक्षाकर्मी आएका छन् ।



गृहमन्त्रालको निर्देशनमा प्रहरी प्रधान कार्यालयले कञ्चनपुरमा एसएसपी बिक्रमबहादुर चन्द समेत पठाएको बताइएको छ । बिहान ३ बजे महेन्द्रनगर पुगेका चन्दले घटनाबारे जानकारी लिएका छन् ।

ठाउँ ठाउँमा टायर बाल्दै आन्दोलन गरिरहेका प्रदर्शनकारीले निर्मलाको बलात्कारपछि हत्यामा संग्लन वास्तविक अपराधी पत्ता लगाउनुपर्ने र एसपीमाथि कारबाही हुनु पर्ने माग गर्दै आएका छन् ।

Comments