बम दिदीबहिनीको घर आक्रमण गर्न हजारौंको भीड एकत्रित, भगतपुर क्षेत्र तनावग्रस्त



महेन्द्रनगर। निर्मला हत्याकाण्डको एक मात्र अभियुक्त भन्दै मानसिक रुपमा असन्तुलित दिलिपसिंह विष्टलाई प्रहरीले सार्वजनिक गरेपछि सुरु भएको आन्दोलन आज झन् सघन र उग्र भएको छ । आन्दोलनकारीले महेन्द्रनगर सहर क्षेत्रका ठाउँ–ठाउँमा प्रदर्शन गर्दै टायर बालर विरोध गरिरहेका छन् ।

विहानबाट सुरु भएको आन्दोलन अहिले भगतपुर क्षेत्रमा केन्द्रीत भएको छ । आन्दोलनकारीले निर्मला पढ्न गएको बम दिदीबहिनीको घरमा आक्रमणको प्रयास गरिरहेका छन् । प्रहरीले आन्दोलनकारीलाई तितरबितर गर्न दर्जनौं राउण्ड अश्रुग्यास प्रहार गरेको छ । बमदिदीबहिनीको घरभन्दा तीन सय मिटर टाढासम्म हजारौं आन्दोलनकारी एकीकृत भएका छन् । उनीहरुले प्रहरीमाथि ढुंगा बर्साइरहेका छन् ।

यसअघि बिहानैदेखि आन्दोलनकारी बजारका चोक–चोकमा भेला भएर टायर बाल्दै प्रदर्शन गरेका थिए । उनीहरुले जिल्ला प्रशासन कार्यालय, सीडीओ निवास, वडा प्रहरी कार्यालयले घेराउ गरेका थिए ।



आज दोस्रो दिन पनि व्यापारी, उद्यमी स्वस्फूर्त बन्दमा उत्रिका छन् । सार्वजनिक यातायात पनि ठप्प छ । विद्यालय, सरकारी कार्यालय र बैंक पनि खुलेका छैनन् ।

गाउँ–गाउँबाट आएका आन्दोलनकारी नेतृत्वविहनि छन् । समूह–समूहमा बाँडिएका उनीहरु आ–आफ्नै तरिकाले आन्दोलनरत छन् ।

आन्दोलनकारी नेतृत्वविहिन हुँदा प्रमुख जिल्ला अधिकारीलाई वार्ता गर्न र समाधान खोज्न समेत समस्या भएको छ । सीडीओ कुमारबहादुर खड्काले आन्दोलनको नेतृत्व नहुँदा परिस्थिति नियन्त्रणबाहिर गएको स्वीकार गरेका छन् ।

शान्तिसुरक्षाको अवस्था बिग्रदै जाँदा स्थानीय प्रशासनले महेन्द्रनगरमा कर्फयू लगाउने सम्भावना पनि बढेको छ ।

आन्दोलनकारीले एसपी डिल्लीराज विष्ट र डीएसपी ज्ञानबहादुर सेटीलाई निलम्बन गरी सीआइबीको टोली तत्काल फिर्ता बोलाउन नाराजुलुस मार्फत माग गरिरहेका छन् ।

Comments