
काठमाडौँ, १० भदौ : नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले कञ्चनपुरकी निर्मला पन्तको बलात्कारपछि हत्याको घटनामा राज्यले नै दोषी जोगाउन लागिपरेको आरोप लगाएका छन् ।
दोषीलाई जोगाउन राज्यले निर्दोष नागरिकमाथि कारबाही गरेको देउवाको आरोप छ । आइतबार प्रतिनिधिसभाको बैठकमा विशेष समय लिएर बोल्दै देउवाले दोषी जोगाउन सरकार नै लागेपछि न्याय माग्न कहाँ जाने भनी प्रश्न गरे ।
‘कञ्चनपुर घटनाकमो अनुसन्धानमा भएको ढिलाइले हामी कस्तो राज्य गइरहेका छौं भन्ने प्रश्न उब्जिएको छ’ पूर्वप्रधानमन्त्री समेत रहेका देउवाले भने ‘दोषीलाई जोगाउन स्वयंं राज्य लाग्दछ भने न्याय माग्न कहाँ जाने ?’
अपराधमा संलग्नलाई जोगाउन निर्दोषलाई दोषी किटान गरेर कारबाही गर्नु अपराधको पराकाष्टा नै हो भन्दै देउवाले राज्यले नै दोषी जोगाउन खोजेपछि न्यायका लागि सर्वसाधारण सडकमा उत्रिनु सामान्य भएको बताए ।
‘राज्यले नै दोषीलाई जोगाउन खोज्दा नागरिकहरुमा आक्रोश बढ्नु र हजारौं नागरिक न्याय माग्न सडकमा ओर्लनू स्वभाविकै हो । तर राज्यले संयमता अपनाउन नसक्दा अर्का बालक सन्नी खन्नाको मृत्यु भयो । कैयौं नागरिकहरु घाइते हुन पुगे । सरकारको यस्तो कार्यको म निन्दा र भर्त्सना गर्न चाहन्छु’, देउवाले भने ।
प्रमुख प्रतिपक्षी दलका नेता देउवाले सरकारले न्यायपालिकालाई कार्यपालिका र व्यवस्थापिकाको लाचार छाया बनाउन खोजेको आरोपसमेत लगाए ।
प्रधानन्यायाधीशमा दीपकराज जोशीलाई संवैधानिक परिषदबाट अनुमोदन गर्ने र संसदीय सुनुवाइ समितिबाट अस्वीकृत गरेर प्रधानमन्त्री केपी शर्मा ओलीले दोहोरो चरित्र देखाएको पनि उनले आरोप लगाए । देउवाले करले नागरिकको ढाड भाँचेको भन्दै न्यायोचित ढंगले कर उठाउन माग गरे ।
Comments
Post a Comment