के पुरुषलाई लाज हुँदैन ?



बेलुकाको ७ बजेर तीस मिनेट गएको थियो । म नयाँ बानेश्वर चोकमा पुरानो ठिमीको बस कुरिरहेको थिएँ । ‘नयाँ बाटो, भक्तपुर !नयाँ बाटो, भक्तपुर’, ‘पेप्सीकोला, काँडाघारी ! पेप्सीकोला, काँडाघारी’ बसका सह–चालकहरु यसै भनिरहेका थिए । म भने तुलनात्मकरुपले अलि कम चल्ने पुरानो ठिमी हुँदै भक्तपुर जाने बस कतिबेला आउला भनेर प्रतिक्षा गरिरहेको थिए ।

साँझको समय मानिसहरुलाई वास स्थान फर्कन हतार थियो । सार्वजनिक यतायातको चल्ने त्यो अन्तिम अन्तिम समय पनि हो । किनकि ८ बजेपछि विरलै सार्वजनिक यातायातका साधन संचालन हुन्छन् । बस कुरीरहेका मानिसहरुका अनुहारमा थकान सँगै चिन्ता प्रस्ट देख्न सकिन्थ्यो । दिनभरीको दौडधुप, अफिसको काम र काठमाडौंको प्रदुषणको मार खेपेका कारण मानिसहरु थकित देखिन्थे भने वासस्थानसम्म पुग्नलाई बस पाइन्छ की पाइदैन ? भन्ने चिन्ता पनि । त्यही मध्येको म पनि एक थिए ।

करिब २० मिनेको प्रतिक्षा पछि आँखा बालेर कम्मर मर्काउँदै ‘मध्यपुर एक्सप्रेक्स’को बस आइपुग्यो । ‘कोटेश्वर, पुरानोबाटो, सानो ठिमी, पुरानो ठिमी, भक्तपुर’ बसका सह–चालक यसै भनिरहेका थिए । म उभिएको ठाँउ भन्दा केही पर बस रोकियो । बसमा भिडभाड थियो । सिट फुल थियो भने उभिन पनि मुस्किल थियो । म बस चढेँ । कोचाकोच बसभित्र उभिन अलि अप्ठ्यारो महशुस भइरहेको थियो ।

बस चढेको केही क्षणमै मिनभवनस्थित क्याम्पस गेट पुगिसकेको थियो । यत्तिकैमा आवज आयो ‘भाई उठ्नोस् त’ । म भन्दा ठ्याक्कै पछाडीबाट आवज आएकाले मैले त्यता तर्फ नजर पुर्‍याए । सार्वजनिक यातायातमा ‘ए’ र ‘बी’ साइडका आठ सिट आरक्षण गरिएको हुन्छ । ‘ए’ साइडका चार सिट अशक्त र जेष्ठ नागरिकका लागि र ‘बी’ साइडका चार सिट महिलाहरुका लागि ।

म ए साइड तर्फका आरक्षण सिटमा जेष्ठ नागरिक र अशक्त नभएकाले अरुनै बसिरहेका थिए । तर, महिलाका लागि आरक्षण गरेको सिटमा भने एक जना करिब २८/३० बर्षका पुरुष बसेका रहेछन् । र करिब १० जना महिला उभिएका थिए । महिला उभिएको अवस्थामा ती पुरुषले सिट छाड्नुपर्नेमा उनले अटेर गरेर बसेका रहेछन् । महिलाहरुले सिट छोड्न आग्रह गरिरहँदा उनी भने सुनेको नसुनै गरेर बसिरहेका थिए ।

पटक–पटक सिट छोड्न भनेपछि उनी मुख खोल्न बाध्य भए र भने ‘मैले किन सिट छोड्ने ?’, छेउमै उभिएकी महिलाले तुरुन्तै जवाफ फर्काइन् ‘यो महिला सिट हो ।’ तर उनले उल्टै भने, ‘मैले नी भाडा तीर्ने हो, महिलाले नी तिर्ने होला । भाडा तिरे पछि बस्न पाइन्न ? म छोड्दीन ।’ ती पुरुष र महिलाहरुबीच यस्तै कुरा भइरहँदा बस जडिबुटी कटिसकेको थियो । ती पुरुषले रुखो जवाफ फर्काएपछि सिट छोड्न गर्ने महिलाका पक्षमा अन्य महिलाहरु पनि एक भए र केही पुरुषहरु पनि । उनीहरुबीच भनाभन भएपछि पेप्सीकोला कटेपछि ती पुरुषले सिट छाडे । सिट छाड्दै गर्दा ती पुरुष भन्दै थिए, ‘पैसा तीरेपछि के–को महिला र पुरुष १ वाइहात ।’ अरु चुपचाप थिए ।

यो त एउटा प्रतिनिधी घटना मात्रै हो । यस्ता घटना सार्वजनिक यातायात चढ्दा थुप्रै देख्न पाइन्छ । करिब १५/२० मिनेटको यात्रा गर्दा सिट नपाए उभिएर यात्रा गर्दा पक्कै मरिन्न । तर, पुरुषहरुले सिटमा बस्नका लागि झगडा गरिरहेका हुन्छन् । के पुरुषहरुलाई लाज हुँदैन ?

– परिश्रमी केटो

Comments