सिधान्यूज /संवाददातामहेन्द्रनगर, श्रावण २६- कञ्चनपुरको भीमदत्त नगरपालिका–९ ब्रह्मदेवस्थित नेपाल–भारत सीमा पिल्लर नं ३ को विवादित क्षेत्रमा बिहीबारेदेखि भारतीय पक्षले सडक निर्माण स्थगन गरेको छ । सशस्त्र प्रहरीको एक टोलीले निर्माणस्थलमा गई हस्तक्षेप गरेपछि भारतीय पक्ष निर्माण रोक्न बाध्य भएको हो ।
कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी कुमार बहादुर खड्कासहितको सुरक्षा निकायको टोलीले सडक निर्माणस्थलको अवलोकन समेत गरेको थियो । यसरी प्रजिक सहितको टोलीले निर्माण रोक्न भारतीय पक्ष संग आग्रह गर्दा पनि भारतीय पक्षले नटेरेर सडक निर्माण कार्य रोकेको थिएन ।
यद्दपी प्रजिअ खडकाले भन्नुभयो ‘सडक निर्माण गर्न भारतीय पक्षले हामीसित समन्वय गरेको छैन,’ “उक्त क्षेत्रमा लामो समयदेखि विवाद रहेकाले संयुक्त सर्भे टिमले टुंगो लगाएपछि मात्रै सडक निर्माण गर्न भारतीय पक्षलाई आग्रह गरेका छौँ” । तर पनि भारतीय पक्षले कार्य सुचारुनै राखेको थियो | सशस्त्र प्रहरीको एक टोलीले निर्माणस्थलमा गई हस्तक्षेप गरेपछि भारतीय पक्ष निर्माण रोक्न बाध्य भएको हो ।
केही सञ्चारमाध्यममा बुधबार दिउँसोदेखि काम रोकिएको भन्ने समाचार आए पनि स्थानीय वासिन्दाका अनुसार बिहीबार बिहानबाट भारतले काम रोकेको हो । भीमदत्त नगरपालिका वडा नं।
९ का सचिव गगन नाथले बुधबार साँझसम्म भारतीय पक्षले काम जारी राखेको बताए । लामो समयदेखि ब्रह्मदेवको सीमा पिल्लर नं ३ हराएको क्षेत्रमा भारतले सडक विस्तार गर्न खोजेपछि केही दिनयता विवाद बढेको थियो । स्थानीय प्रशासनले भारतको उत्तराखण्डका डिएम जिल्ला प्रमुख स्तरमा विवादित क्षेत्रमा तत्काल काम रोक्न आग्रह गरेपछि सो क्षेत्रमा सडक बनाउन रोकेको हो ।
केही महिनाअघि नेपाल–भारत संयुक्त सर्वे टोलीले ३ नं सीमा पिल्लर, ब्रह्मदेवस्थित महाकाली नदी बाँधको सिँढी रहेको स्थानलाई मान्ने सहमति गरेको थियो । स्थानीयले पनि बाँध चढ्ने उक्त सिँढीलाई नेपाल–भारत सीमा मान्दै आएका थिए ।
तर भारतीय पक्षले नदीको बाँधको फेदमा पनि टनकपुर ब्यारेजबाट करीब एक हजार तीन सय मिटर सडक बनाउन थालेपछि सीमा विवाद बढेको थियो । टनकपुर ब्यारेजदेखि उत्तर करीब एक हजार मिटर दूरीमा सीमा मानिँदै आएको सिँढी पर्छ । तर भारतीयले एकतर्फी रुपमा नेपाली पक्षसित समन्वय नै नगरी सीमाभन्दा करीब तीन सय मिटर नेपालतर्फ ब्रह्मदेव बजारको पश्चिम सडक विस्तार थालेको थियो ।
सीमाभन्दा करीब ५० मिटर वर बुधबार बिहान पनि भारतले सडक विस्तारका क्रममा पानीको निकासका लागि ह्यूमपाइप राख्न खाँडल खनिरहेका बेला सशस्त्र प्रहरी गण ३५ नम्बर गण मझगाउँबाट खटिएको प्रहरीको टोलीले दुई देशबीच जिल्लास्तरमा काम रोक्ने सहमति भएको भन्दै निर्माण कार्य रोकेको थियो ।
गणबाट सशस्त्र प्रहरी निरीक्षक धनसिंह धामी नेतृत्वको टोलीले सडकमा बनाइएको खाडलसमेत भारतीय पक्षलाई भर्न लगाएको थियो । सो क्षेत्रको सीमा विवाद नेपाल–भारत संयुक्त सर्वे टिमले मिलाएपछि मात्रै सीमा स्तम्भः राखेर निर्माण थालिने सहमति भएको सशस्त्र प्रहरीले जनाएको छ ।
भारतले ३ नं पिल्लर मानिँदै आएको धेरै वर नेपालतर्फ पनि आफ्नो भूमि दाबी गर्र्दै आएको छ । तर स्थानीय ब्रह्मदेववासी भने सीमा मानिएको सिँढीभन्दा धेरै परसम्म नेपाली भूमि रहेको बताउँछन् । विवादित क्षेत्रको मङ्गलबार स्थलगत अनुगमनपछि कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्काले जिल्लास्तरबाट समस्याको समाधान थालेका थिए ।
‘२०४०÷०४२ सालतिर ३ नं सीमा पिल्लर महाकाली नदीको बीचमा थियो, त्यो पिल्लरमा मै बसेर गोरु चराएको छु ।’ गगनसिंह कार्कीले भने, ‘पिल्लर नहुँदा लामो समयदेखि यहाँ थिचोमिचो सहनु परेको छ ।‘
यस प्रकरणमा सशस्त्र प्रहरीले प्रशंसनीय काम गरेको पाइएको छ । भारतले अतिक्रमण गरेका वा जानाजान नेपाली भूमिमा बनाइरहेका संरचनासम्म पुगेर सशस्त्र प्रहरीले काम रोकेको यो पहिलो घटना हो । भारतीय पक्षले करिब तीन महिना अगाडिदेखि निर्माण प्रक्रिया सुरु गरेको यो सडक भारतका लागि सडकका रुपमा नभई सीमा सुरक्षाका लागि सामरिक रहेको थियो ।
Comments
Post a Comment