मृगौलापीडितलाई सहयोग

मृगौलापीडितलाई सहयोग

म्याग्दी, ६ भदौ : मृगौलाका बिरामीका लागि आर्थिक सहयोग अभियान थालिएको छ । दुवै मृगौलाले काम गर्न नसकेर थलिएका मङ्गला गाउँपालिका–५ नेटाका १९ वर्षीय सुरेश छन्त्यालको उपचारको लागि सहयोग जुटाउन अभियान शुरु गरिएको छ । आर्थिक अवस्था कमजोर भएकाले उपचार गराउन नसकेपछि परोपकारी संस्था ओमकुमारी शान्ति कोषले सो अभियान थालेको हो ।

बेनीको माउण्ट एभरेष्ट आवासीय माविमा कक्षा १२ मा अध्ययनरत छन्त्यालको काठमाडौँस्थित शिक्षण अस्पतालका चिकित्सक डा कमल लामिछानेको निगरानीमा उपचार भइरहेको छ । छन्त्यालकी आमा सीताले आफ्नो छोराको जीवन बचाइदिन अपिल गर्नुभएको छ । उहाँको उपचारका लागि रु २५ लाखदेखि ३० लाखसम्म आवश्यक पर्ने आमा सीताले बताउनुभयो । हालसम्म रु तीन लाख ५० हजार खर्च भइसकेको छ । मङ्गलबार रु ३९ हजार ५०० सहयोग जुटेको छ ।
-रासस

Comments