काठमाडौं । बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगको लागि बंगालको खाडीको प्रयास अर्थात बिमस्टेकको चौथो सम्मेलन भोलि र पर्सी काठमाडौंमा हुने भएको छ । यसको सम्पूर्ण तयारी पूरा भइसकेको छ भने विशिष्ट विदेशी पाहुनाहरु आउने क्रम सुरु भइसकेको छ । म्यानमारका राष्ट्रपति विन मिन्टसहित भारत, भुटान, बंगलादेश, श्रीलंका, थाइल्याण्ड र म्यानमारका विदेशसचिवहरु मंगलबार नै काठमाडौं आइसकेका छन् । केही देशका परराष्ट्रमन्त्रीहरु पनि काठमाडौ आएका छन् ।
आज भुटानको सर्वोच्च अदालतका प्रधानन्यायाधीश तथा अन्तरिम सरकारका प्रमुख सल्लाहकार छिरिङ वाङचुक नेपाल आउँदै छन् भने श्रीलंकाका राष्ट्रपति मैत्रीपाला सिरिसेना आज नै काठमाडौं आउँदैछन् । बिमस्टेकको सम्मेलन हुने दिन भोलि बिहान ३ देशका सरकार प्रमुख नेपाल आउँदैछन् । भोलि बिहान ८ बजेदेखि ११ बजेको बीचमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल आउँदैछन् ।
यस्तै बंगलादेशका प्रधानमन्त्री शेख हसिना वाजेद भोलि बिहान झण्डै नौ बजेको समयमा त्रिभुवन विमानस्थलमा आइपुग्ने कार्यक्रम रहेको छ । त्यस्तै थाइल्याण्डका राष्ट्रपति प्रायुट चान ओ चा पनि भोलि नै नेपाल आउने कार्यक्रम रहेको छ ।
Comments
Post a Comment