मोरङको ग्रामथान गाउँपालिका–तेतारियास्थित सिद्राहामा एक युवाले प्रेमिकाले धोका दिएको भन्दै धारिलो हतियार प्रहार गरी हत्या गरेका छन् ।


मोरङ । मोरङको ग्रामथान गाउँपालिका–तेतारियास्थित सिद्राहामा एक युवाले प्रेमिकाले धोका दिएको भन्दै धारिलो हतियार प्रहार गरी हत्या गरेका छन् ।

शुक्रबार बिहान अन्दाजी ९ः३० बजे पहेलो रंगको को१७ प १७२३ नम्बरको स्कुटर चढेर आएका विराटनगर–१३ का ३० वर्षीय दिनेश भट्टराईले सोही स्थानकी २३ वर्षीया शिखा घिमिरेको हत्या गरेका हुन् ।

खाली गाईगोठमा भेट्न पुगेका भट्टराईले घिमिरेलाई घाँटी, छातीलगायतका स्थानमा अन्धाधुन्ध खुकुरी र छुरा प्रहार गर्दा घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, मोरङले जनाएको छ ।

युवतीको शरीर क्षतविक्षत पारेर भाग्ने क्रममा स्थानीयले ती युवालाई पक्राउ गरी प्रहरीलाई खबर गरेका थिए । ति युवालाई ईलाका प्रहरी कार्यालय बेलबारीले नियन्त्रणमा लिएको छ ।



भट्टराईले आफूमाथि धोका भएको र शिखाको हत्या गर्ने योजना बनाएको प्रारम्भिक बयानमा दिएका छन् । मृतक घिमिरेको शव पोष्टमार्टमको लागि कोशी अञ्चल अस्पताल लगिएको प्रहरीले जनाएको छ ।

निज भट्टराईलाई मुलुकी अपराध (संहिता) ऐन २०७४ को ज्यान सम्बन्धी कसूर अन्तर्गत थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ

Comments