उनीहरूको विवाह प्रसंग टेलिभिजनमा देखाइने ‘सिरियल’को दृश्य कत्ति पनि फरक छैन । ‘दैवले जुराएको’ यो जोडीको न त प्रेम विवाह भएको हो न पारिवारिक रूपमा मागी विवाह नै । अचानक र अप्रत्याशित रूपमा विवाह गरेका वीरगन्ज १२ गोश्वारा रोडका ३१ वर्षीय जटाधारी र २३ वर्षीया सोनी वर्णवाल अहिले यस क्षेत्रमा चर्चित छन् ।वीरगन्ज लक्ष्मणवाका एक स्वजातीय युवासँग फागुन २७ गतेका लागि तय सोनीको विवाह केवल एउटा सुनको औंठीको विवादले सम्पन्न हुन सकेन । सिन्दूर हाल्ने बेलासम्म पूर्वनिर्धारित दाइजोको सूचीअनुसार सुनको औंठी नपाएपछि बेहुलाले बबाल गरे ।
सोनीका अभिभावकले बेहुला पक्षले मागेबमोजिम सबै दाइजो दिइसकेको र वैवाहिक कार्यक्रम सकिएलगत्तै सुनको औंठी पनि दिने भन्दै सिन्दूर हाल्ने विधि सक्न जति अनुरोध गरे । तर बेहुला टसमस भएनन् । भारत बेतियादेखि सपरिवार नेपाल आएर छोरीको कन्यादान गर्न ठिक्क परेका सोनीको अभिभावक निराश बने । तर, दाइजोको लोभी युवकसँग कुनै पनि हालतमा विवाह नगर्ने अडान सोनीले लिइन् । लामो विवाद चल्यो । अन्तत: प्रहरीले हस्तक्षेप गर्यो र विवाह भाँडियो ।
भारतदेखि कन्यादान दिन आएकासँग दाइजो लोभले विवाह भाँडिएको विषयले आफूहरूको बेइज्जती भएको महसुस गर्यो यहाँको वर्णवाल समाजले । समाजका अगुवाहरूको अर्को बेहुलो खोज्ने पहल गरे । जटाधारीले ‘साहसिक निर्णय’ गर्दै सोनीसँग विवाह गर्ने प्रस्ताव गरे । बिनादाइजो विवाह गर्ने उनको प्रस्ताव सोनी र उनका अभिभावकले सहर्ष स्विकारे । फागुन ३० गते गहवामाई धर्मशालामा धुमधामका साथ यो आदर्श विवाह भयो ।
तराईमा दाइजो प्रथालाई गतिलो झापड दिएको यो विवाहपछि जटाधारी र सोनीको जोडी चर्चित बनेको छ । विभिन्न संघसंंस्थाले यो दम्पतीलाई सम्मान गर्ने लहर चलेको छ वीरगन्जमा । नवदम्पतीमा एक अर्काबीच समझदारी छ । त्यो देखेर जो कोहीले प्रेम विवाह गरेको वा दुवैले लामो समयदेखि एक–अर्कालाई चिनेको अनुमान गर्छन् ।
व्यापारी परिवारका ४ छोरामध्येका साहिँला जटाधारी एक निजी कम्पनीमा मार्केटिङको काम गर्छन् । विवाहपछि अचानक आफू चर्चामा आएको र सबैले स्याबासी दिइरहेको उनी बताउँछन् । ‘मैले लिएको निर्णय र त्यसपछि पाएका सकारात्मक प्रतिक्रियाले तराईको समाज बदलिँदै गएको र थप बदलाव खोजेको जस्तो लाग्छ,’ जटाधारीले भने, ‘तराईमा अब छोरी जन्मँदा अभिभावकको मुहारमा चिन्ता बढ्ने प्रवृत्तिको अन्त्य हुनैपर्छ, छोरीको घरजम गरेपछि अभिभावक ऋणमा चुर्लुम्म डुब्ने र घरबारविहीन हुने क्रम रोकिनुपर्छ ।’
आफ्नै छिमेकका कतिपय शिक्षित युवा डाक्टर, इन्जिनियर र ठूला पदमा पुगेर पनि अभिभावकको चाहनामा आफूलाई सहर्ष दाइजोमा बिक्री गरेको थुप्रै घटना उनलाई थाहा छ । तराईका शिक्षित युवाले दाइजो माग्ने आफ्ना अभिभावकविरुद्ध मुख खोल्ने र आफूलाई बिक्री नगर्न विद्रोह गर्ने समय आइसकेको उनी बताउँछन् ।
सोनी पनि खोजेजस्तै पति पाएकोमा निकै खुसी छन् । ‘म आफ्नो वैवाहिक जीवनबाट सन्तुष्ट छु,’ उनी भन्छिन्, ‘आखिर जोडी भनेको दैवले नै जुराउँदो रहेछ, मलाई उहाँजस्तो योग्य र इमानदार पति पाउने अवसर दैवले जुराएको हो ।’ स्नातक अन्तिम वर्षकी छात्रा उनले पारिवारिक मन्जुरी मिले भारतमा अधुरो रहेको आफ्नो पढाइलाई पनि निरन्तरता दिने बताइन् ।
Comments
Post a Comment