अब खुल्ला कञ्चनपुर घटनाको रहस्य ? प्रहरीको नियन्त्रणमा परे बम दिदीबहिनी, यो घटना घटाउनुमा दिदीबहिनीको यस्तो भूमिका रहेको खुलासा



काठमाडौं – बलात्कारपछि हत्या भएकी निर्मला पन्तको हत्यारालाई पक्राउ गर्न माग गर्दै कञ्चनपुरको भीमदत्त नगरपालिकामा आन्दोलन जारी छ । आन्दोलनका क्रममा प्रदर्शनकारीलाई दमन गर्न प्रहरीले चलाएको गोली लागेर १४ वर्षीय सनी खुनाको मृत्यु भएसँगै सरकारको चौतर्फी आलोचना भइरहेको छ ।

प्रहरीले गोली चलाएर आन्दोलनकारीको ज्यान जाँदा सरकारले घुसपैठको दाबी गदैगर्दा सरकारको नेतृत्व गरिरहेको नेकपाले समेत शनिबार बिहान बसेको आकस्मिक बैठकले घटनाको विशेष अनुसन्धान गर्न आग्रह गरेको छ ।

घटनाले देशको राजनीति समेत तातिइरहेको बेला कञ्चनपुर प्रहरीले घटनाको केन्द्रबिन्दुमा रहेका भनिएका दुई युवतीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भीमदत्त नगरपालिका १८ बाट रोशनी र बबिता बम रहेका छन् । उनीहरु दिदी बहिनी हुन् भने सो घरमा उनीहरु बस्दै आएका थिए । उनका बाबुआमा भने पहाडको घर दार्चुलामा बस्दै आएका थिए ।

कञ्चनपुरका डिएसपी तथा प्रवक्ता कृष्णराज ओझाले उनीहरुलाई घटनामा उनीहरुको शंकास्पद भूमिका देखिएकाले नियन्त्रणमा लिइएको बताए । दिदीबहिनीको कनेक्सन परिवारका अनुसार साउन १० गते बिहान ११ बजे निर्मला बबिता र रोशनीकहाँ पुगेकी थिइन् । तर, अपराह्न पाँच बजे सम्म पनि निर्मला नफर्किएपछि सोधखोज गर्दा बबिताले यथार्थ जानकारी दिनुको साटो रुखो जवाफ फर्काएकी थिइन् ।



सुरुमा बबिताले निर्मला दुई बजे त्यहाँबाट घर हिँडेको बताएपनि पछि ‘पोइल गइ होला’ भन्ने रुखो जवाफ फर्काएको बताइएको छ । स्थानीयका अनुसार उनीहरु कहाँ बारम्बार २ युवा पुग्ने गर्दथे । उनीहरु एसपी डिल्लीराज विष्टका छोरा र मेयर सुरेन्द्र विष्टका भतिज भएको उनीहरुको दाबी छ ।

स्थानीयले रहस्यको केन्द्रमा रहेका ती दिदीबहिनीलाई पक्राउ गरेसँगै अब हत्या प्रकरण खुल्दै जाने अपेक्षा लिएका छन् । स्थानीयका अनुसार आरोपी दिदीबहिनी बस्दै आएको घर साढे दुई तल्ले रहेपनि भाडामा दिइएको थिएन ।

स्थानीयले सुरुदेखि नै त्यही घरबाट अनुसन्धान हुनुपर्ने माग गर्दै आएका थिए । तर, प्रहरीले गम्भीरतापूर्वक अनुसन्धान गर्नुको साटो उल्टै एक सुस्त मनस्थितिका मानिसलाई पक्राउ गरेपछि स्थानीय आक्रोशित बन्दै आन्दोलन चर्काएका थिए ।

छानबिन समिति सक्रिय पन्तको बलात्कारपछि भएको हत्याबारे छानबिन गर्न सरकारले भदौ ७ मै एक समिति पनि गठन गरेको थियो ।

गृह मन्त्रालयले छानबिन गर्न सह–सचिव हरिप्रसाद मैनालीको नेतृत्वमा उच्च स्तरीय छानबिन समिति गठन गरेको हो । जुन समितिले शुक्रबारदेखि नै अनुसन्धान थालिसकेको छ ।

विष्टसहितका अधिकारी तनावमा भदौ ७ गते जिम्मेवारीबाट मुक्त भएका कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुख (एसपी) र डीएसपीमाथि गृह मन्त्रालयले सुक्ष्म ढंगले अनुसन्धान गरिरहेको छ । उनीहरुले आफूले पाएको जिम्मेवारी पूरा गरे–नगरेको बारे गृहमन्त्रालयले अनुसन्धान गरिरहेको जनाएको हो ।



गृहमन्त्रालय निकट स्रोतका अनुसार निर्मला पन्तको बलात्कार र हत्या प्रकरणको अनुसन्धान कार्यमा संलग्न व्यक्ति तथा राष्ट्रसेवकमाथि अनुगमन भइरहेको छ ।

यसबारे मन्त्रालयले शुक्रबार जारी गरेको विज्ञप्तिमा पनि जिम्मेवार अधिकारीबाट कमजोरी भएको पाइएमा कारबाही गरिने जनाइएको छ ।

‘अनुसन्धान कार्यमा संलग्न व्यक्ति तथा राष्ट्रसेवकहरुबाट यसअवधिमा सम्पादिन पदीय कर्तब्य र जिम्मेवारीको नेपाल सरकारले निरन्तर अनुगमन गरिरहेको हुँदा कमी कमजोरी गरेको भए आवश्यक छानबिन गरी कारबाही गरिने सबैलाई जानकारीको लागि अनुरोध छ’, गृह प्रवक्ता रामकृष्ण सुवेदीले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

गृहले घटनाको विस्तृत र निष्पक्ष छानविन गरी दोषी उपर कारबाही गर्ने विषयमा कुनै आशंका नराख्न तथा विषय परिस्थितिमा संयमित भई समस्याको समाधानमा सहयोग पुर्याउन पनि सबैसँग अनुरोध गरेको छ ।

सरकारले भदौ ७ मा कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी (सीडीओ) कुमार बहादुर खड्का, एसपी डिल्लीराज विष्ट र डीएसपी ज्ञानबहादुर क्षेत्रीलाई पनि जिम्मेवारीबाट हटाएको थियो । एसपी विष्टकै छोरा निर्मला प्रकरणमा मुछिएकाले घटना रहस्यमय बनेको बताइँदै आएको छ । रातो पाटि

Comments