
एजेन्सी । भारतको मुम्बईमा मार्केटिङ कन्सल्टेन्ट गौरव एसको सवारी दुर्घटनामा मृत्यु भयो । उनको मृत्यु भएको तीन वर्षपछि उनकै वीर्यबाट छोरो जन्मिएको छ । जसलोक अस्पतालमा उनको छोरालाई जन्म दिइएको हो । बाबुको मृत्यु पश्चात पनि छोरालाई जन्मदिन प्रक्रियाको शुरूवात अगस्ट २०१५ मा भएको थियो । त्यतिखेर बेंगलुरुमा काम गरिरहेका ३० वर्षीय दम्पती सुप्रिया जैन र गौरव एसले एउटा निर्णय लिए । बिहेको पाँच वर्षपछि पनि उनीहरू आमाबुवा बन्न नसकेपछि आईभीएफ प्रविधिको सहायता लिए । तर, आईभीएफ प्रक्रियामा गएको केही दिनपछि नै गौरव सवारी दुर्घटनामा ज्यान गुमाए ।
पतिको मृत्यु पश्चात सुप्रियालाई सम्हालिन समय लाग्यो । पछि गएर उनले पतिको बच्चालाई जन्माउने मन बनाइन् र चिकित्सकसँग परामर्श लिन थालिन् । त्यसपछि उनी आमा बन्ने खर्चिलो र लामो यात्रा शुरू गरिन् । चिकित्सकसँगको सल्लाहपछि एकदम गाह्रो गरी सुप्रियाका पतिको वीर्य सम्हालेर राखियो ।
उनको उपचारमा संलग्न चिकित्सक डा पारिख भन्छिन्, ‘हामीहरू कुनै जोखिम उठाउन चाहँदैनथियौं । हामीले धेरैचोटि डिम्बलाई सेचन गर्ने कोशिश गर्यौं तर काम बनेन । अनि हामीले सरोगेट खोज्ने निर्णय लियौं ।’
सरोगेट आमाबाट छोरो जन्मेको कुरा सुप्रियाले बालीमा थाहा पाइन् । उनी भन्छिन्, ‘छोरो आफ्ना बुवाजस्तै देखियोस् भन्ने कामना गर्दछु । म बच्चा हैन, गौरवको बच्चा चाहन्थें । हामीले पहिले नै हाम्रो एक बच्चा पाएपछि अर्को अडप्ट गर्ने निर्णय लिइसकेका थियौं । गौरवको मृत्युको दिन अब शहर छोडेर भाग्न मलाई मन लाग्दैन अब ।’
Comments
Post a Comment