जुम्लामा २४ करोडको स्याउ उत्पादन



सुर्खेत, ११ भदौ । चालू आर्थिक वर्ष २०७५/७६ मा जुम्लामा रु २४ करोडको स्याउ उत्पादन भएको अनुमान गरिएको छ। स्याउ रोपिएको क्षेत्र, उत्पादन परिमाण र बजार मूल्यको अनुमानबाट सो परिमाणमा स्याउ उत्पादन भएको प्रक्षेपण गरिएको हो।

यस वर्ष जुम्लामा ६ हजार मेट्रिकटनसम्म स्याउ उत्पादन भएको जिल्ला कृषि विकास कार्यालयका योजना अधिकृत बालकराम देवकोटाले जानकारी दिए। तीन हजार ४०० हेक्टरमा स्याउ लगाइएको थियो । प्रतिकिलो रु ४० मा स्याउ बिक्री भएको उनले बताए।

चन्दननाथ कृषि विकास शाखाका प्राविधिक सहायक धर्मराज आचार्यले प्रतिव्यक्तिले तीनदेखि १० मेट्रिक टनसम्म स्याउ बिक्री गरेको बताउनुभयो । अहिलेसम्म झण्डै ५०० क्विन्टल स्याउ बिक्रीका लागि सुर्खेत र नेपालगञ्ज ल्याइएको छ।

व्यापारीलाई ढुवानी अनुदानअन्तर्गत १० देखि १५ किलोका दुई हजार ५०० कार्टुन बाँडिएको आचार्यले बताए। कृषकले सामान्यतः बजारमा प्रतिकिलो रु ५० मा स्याउ बिक्री गरेको जुम्ला उद्योग बाणिज्य सङघका अध्यक्ष रामदत्त रावलले बताए।

जुम्लाका किसान स्याउ टिप्न थालेका छन् । बँगैँचाबाट स्याउ टिप्ने, एकै ठाउँमा भण्डारण गर्ने, ग्रेडिङ, प्याकेजिङ्सहित कार्टुन तयारी गर्न उनीहरुलाई भ्याईनभ्याई छ । व्यापारी स्याउ किन्न बगैँचामा नै पुग्न थालेपछि पछि किसानलाई बिक्री गर्न समस्या छैन । स्याउ बोकेर बजार लैजाने झञ्जट हटेको छ । बगैँचामा प्रतिकिलो रु ५५ देखि रु ६० सम्ममा स्याउ बिक्री गर्दै आएको तिला गाउँपालिका–३, लुम्सेराका मनकोइला हमालले बताए।
-internetkhabar

Comments