
नायिका तथा निर्माता रेखा थापाले बुढानिलकण्ठ स्कुलमा पढाउने भन्दै पश्चिम नेपालबाट काठमाडौंमा चार बर्ष अघि ल्याएका राउटेका सन्तान के गर्दैछन् भन्ने जानकारी दिएकी छैनन् । रेखा थापा फाउन्डेशनका नाममा बुढानिलकण्ठमा पढाउने भन्दै ल्याए पनि अर्को स्कुलमा भर्ना गरेपछि राउटेले सन्तान फिर्ता मागेका थिए ।
तर अभिनेत्री थापाले सन्तान फिर्ता गरिन् या गरिनन् भन्ने केही जानकारी दिएकी छैनन् । रेखाले सन्तान लगेको तीन महिना पनि नपुगी राउटे अगुवा दानसिंह राउटेले अभिभावकलाई भेट्न नदिएको र लानुअगाडि गरेको वाचा पूरा नगरेको भन्दै फिर्ता मागेका थिए । थापाले राउटेका बालबालिकालाई आनन्दकुटी विद्याश्रममा भर्ना गरेकी थिइन् ।
कतिपयले अभिनेत्री थापाले राउटे बालबालिकालाई काममा लगाएको आरोप समेत लगाएका थिए । दानसिंहले अभिभावकलाई थापाले बालबालिका भेट्न नदिएको भन्दै गुनासो गरेका थिए । डडेलधुरा, जोगबूढाका दानसिंहका छोरा लक्ष्मण, उनका भाइकी छोरी यशोदा र रूपाकुमारी एवं सिर्सका मञ्जु राउटेलाई रेखाले काठमाडौं ल्याएकी थिइन् । मञ्जुको हात भाँचिएको समेत दानसिंहले दाबी गरेका थिए ।
नेपाल राउटे विकास संघका अध्यक्ष दानसिंहले अन्य अभिभावकले समेत गाली गरेको बताएका थिए । कुनै सम्झौता बिना नै रेखाले राउटेका सन्तानलाई काठमाडौं ल्याएकी थिइन् । रेखाले लगेका राउटेका बालबालिका जंगलमा बस्ने नभई तीन दशक अघिदेखि घरबार गरी बसेका राउटेका बच्चा थिए । सुदूरपश्चिमको जोगबूढा र सिर्स गाविसमा तीन दशकअघि नेपाल सरकारले लगभग चार सय राउटेलाई पुनस्र्थापना गरेको थियो ।
विभिन्न फिल्मका प्रचार, सामाजिक कामका विषयमा बोल्ने रेखाले राउटे बालबालिकाको बारेमा चार बर्षदेखि मुख समेत खोलेकी छैनन् । हङकङ पुगेर राउटेका बच्चाहरूको आमा बन्ने उद्घोष गरेकी रेखा हाल सुर्खेत पुगेकी थिइन् । राउटे बस्तीमा पुगेर राउटेका मुखियालाई किस गरेर पनि रेखा चर्चामा थिइन् ।
Comments
Post a Comment