काठमाण्डौ,२६ साउन । चिकित्सा शिक्षा सुधारका लागि १५ पटकसम्म अनशन बसेका डा. गोविन्द केसीले प्रधानमन्त्री केपी शर्मा ओलीसँग शनिबार प्रत्यक्ष भेटवार्ता गर्दै छन्।
प्रधानमन्त्री निवास बालुटारमा ११ः ४५ बजे डा. केसी र प्रधानमन्त्री ओलीबीच प्रत्यक्ष भेटवार्ता हुने भएको हो।
आफ्ना प्रतिनिधिमार्फत् राष्ट्रिय चिकित्सा शिक्षा विधेयकका विषयमा सहमति गरेका डा. केसीले त्यसयता पहिलोपटक प्रधानमन्त्री केपी शर्मा ओलीसँग आफै कुरा गर्न लागेका हुन्।
अनशन बस्दा डा. केसी बोल्न नसक्ने भएका कारण डा. अभिषेकराज सिंह नेतृत्वको टोलीले सरकारसँग वार्ता गरी सहमति जुटाएको थियो। अहिले डा. केसीको स्वास्थ्यअवस्था
सामान्य भइसकेकाले सीधै प्रधानमन्त्रीसँग कुरा गर्न लागेका डा. केसीका सहयोगी प्रितम सुवेदीले जानकारी दिए।
चिकित्सा शिक्षा विधेयकका विषयमा भएका सहमति कार्यान्वयनका लागि डा. केसीले प्रधानमन्त्री ओलीको ध्यानाकर्षण गराउने उनले बताए।
यसबीच डा. केसीले सरकारले आफूसँग भएको सहमति कार्यान्वयन नगरे १६ औं पटक सत्याग्रह थाल्ने चेतावनी दिइसकेका छन्। कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको
सरकारले जारी गरेको चिकित्सा शिक्षा अध्यादेशविरुद्ध वर्तमान सरकारले प्रतिस्थापन विधेयक संसदमा दर्ता गरेपछि डा. केसीले जुम्लाबाट १५ औं अनशन बसेका थिए।
अनशनको २७ औं दिनमा डा. केसीको मागअनुसार विधेयक संशोधन गर्न सरकार सहमत भएको थियो।
काठमाडौं उपत्यकामा १० वर्षसम्म मेडिकल कलेज नखोल्ने, एउटा विश्वविद्यालयले पाँचभन्दा बढी शिक्षण संस्थालाई सम्बन्धन दिन नपाउनेलगायत सहमति भएको छ।
प्रधानमन्त्रीका प्रेस सल्लाहकार कुन्दन अर्यालले पनि प्रधानमन्त्री ओली र डा. केसीबीच आज भेटघाट हुन लागेको जानकारी दिँदै यो त्यति ठूलो भेटवार्ता नभएको बताए। उनले भने, ‘यस्ता भेटघाट त भइरहन्छन् नि।’
प्रधानमन्त्रीसँग भेटवार्ता गर्न डा. केसीसहित उनको वार्ता टोली संयोजक डा. अभिषेकराज सिंह लगायत बालुवाटार जाने कार्यक्रम छ।-नेपाल खबर
Comments
Post a Comment