
काठमाडौं : लामो प्रतिक्षापछि कलंकीमा निर्माण भएको ‘अन्डरपास’ सञ्चालनमा आएको छ । शुक्रबारबाट आंशिक रुपमा ‘अन्डरपास’ बाट गाडी गुड्न थालेका हुन् ।
काठमाडौं चक्रपथ सुधार आयोजनाका इन्जिनियर प्रकाशचन्द्र भण्डारीले ‘पार्सियल्ली’ रुपमा अन्डरपास सञ्चालनमा आएको जानकारी दिए । ‘पार्सियली सञ्चालनमा आयो, अहिले ट्रायल हो,’ उनले भने, ‘ केही काम अझै बाँकी छ, पूरै काम सकेर औपचारिक रुपमा सञ्चालन हुन्छ ।’
पूर्णरुपमा सञ्चालनमा आउन अझै डेढ महिना लाग्ने उनले बताए । उनका अनुसार अब चक्रपथ र कंलकीबाट बायाँ गुड्ने सवारी साधानले जाममा बस्नुपर्ने छैन।
अन्डरपास सञ्चालन भए पनि केही समय दायाँ गुड्ने सवारी साधानले जाममा बस्नु पर्ने उनको भनाइ छ । ‘अब चक्रपथमा कोही रोकिनुपर्दैन, देब्रे घुम्नेमा पनि जाम हुँदैन,’ उनले भने, ‘मात्र दाहिने घुम्ने गाडीले थोरै समय रोकिनु पर्छ ।’
चीन सरकारको सहयोगमा निर्माण भएको अन्डरपास ४ लेन चौडाईको छ । त्यसैगरी कंलकीबाट खसी बजारतर्फ ४ सय मिटर र कंलकीबाट बाफलतर्फ ४ सय मिटर गरी आठ सय मिटर लामो छ यो अन्डरपास ।
अन्डरपास सञ्चालनसँगै कंकलीमा वर्षौदेखि हुदैँ आएको जाम अन्त्य हने भएको छ । कंलकी-कोटश्वरको सडक निर्माण लागत २१ करोड २० लाख चिनियाँ युआन रहेको इन्जिनियर भण्डारीले जानकारी दिए ।
Comments
Post a Comment