अच्युत राज भण्डारी
खत्याड गाउँपालिका–५ बालविवाहमुक्त क्षेत्र हो । सरकारले खत्याड (साविकको खमाले गाविस) को वडा नम्बर ५ लाई १० मंसिर ०७२ मा बालविवाहमुक्त घोषणा गरेको थियो । तर, बालविवाहमुक्त घोषणा गरेदेखि नै यहाँ २० वर्ष नपुग्दै आमा बन्नेको संख्या बढ्दै गएको छ ।
महिला अथवा पुरुष दुवै २० वर्ष पूरा नभई गरिएको विवाह कानुनी रूपले बालविवाह ठहरिने जिल्ला अदालत मुगुका प्रमुख जवाहरप्रसाद सिंहले बताए । कानुनी रूपले कोही कसैले २० वर्ष पूरा नभई विवाह गरेमा विवाह दर्ता नहुने, श्रीमान्को नाममा महिलालाई नेपाली नागरिकताको प्रमाणपत्र बनाउन नमिल्ने ऐनमा उल्लेख भएको उनको भनाइ छ । तर, कानुनविपरीत यहाँ विवाह गर्नेको संख्या बढिरहेको छ ।
पुस्तक हुनुपर्ने हातमा लालाबाला
स्यान खत्याड ५ लमेरा गाउँकी १७ वर्षीया कल्पना बुढा आमाबुबाको काखमा रमाउने र कापीकिताब च्यापेर विद्यालय जाने वेला वैवाहिक बन्धनमा बाँधिएर बालबालिका स्याहार्न बाध्य छिन् । उनको काखमा नौ महिनाको छोरा छ । बिहे गरेको वर्ष दिनमै छोरा जन्मेको उनले बताइन् ।
‘अघिल्लो सालको एसइईमा २ विषयमा फेल भएँ, यो वर्ष सानो छोरो हँुदा परीक्षा दिन पाइन,’ बुढाले भनिन्, ‘दुःख त लाग्छ, पढाइ छुट्यो, केही थाहा नभएर बिहे गरियो । बच्चा जन्मियो । विद्यालय जाने मन अझै छ ।’
कल्पनाजस्तै कोटिल्ला–५ की २१ वर्षीया इन्दिरा बुढाले ६ वर्षअघि भागेर विवाह गरेकी थिइन् । अहिले उनका ३ वर्षीकी छोरी र ९ महिनाको छोरो छ । यतिवेला घरको काम र छोराछोरीको स्याहारमा जुटेकी छिन् । ‘१३ वर्षको कलिलो उम्मेरमा भागेर बिहे गरियो, आमाबुबाको काखमा रमाउने वेला अर्काको घरको झमेलामा डुबियो,’ उनले भनिन् । कल्पना र इन्दिरा मात्रै होइनन्, मुगुका गाउँमा यस्ता पीडा भएका किशोरीआमा प्रशस्तै भेटिन्छन् ।
वडा कार्यालयको पहलले रोकिएन बालविवाह
बालविवाह रोक्न वडाकार्यालयले विभिन्न जनचेतनामूलक कार्यक्रमहरू सञ्चालन गरेको थियो । तर, वडा कार्यालयका यस्ता कार्यक्रम फलदायी बन्न सकेका छैनन् । ३ वर्षयता खत्याड गाउँपालिका–५ का कवाँ, कोटिल्ला, भागोटी, खमाले, लमेरा, चागपान्डेलगायत गाउँमा सानैमा बिहे गर्ने २० वर्षमुनिका ६० भन्दा बढी किशोरी अवस्थामै आमा बनेका भेटिन्छन् । सो गाउँमा ५० देखि ६० जनासम्म २० वर्ष नपुगेका किशोरीले बच्चा जन्माएको वडा नम्बर ५ का कम्प्युटर तथा लेखा सहायक भक्तबहादुर रोकायाले बताए ।
एसइईपछि बिहेको हतार
खत्याड गाउँपालिका–५ लमेरागाउँमा धेरैजसो किशोरी एसइई परीक्षा दिएलगत्तै विवाह गरेका भेटिन्छन् । त्यसपछि एक वर्षमै बच्चा जन्माउने गरेको वडा कार्यालयको तथ्यांक छ । लमेरा गाउँमा मात्रै होइन, कोटिल्ला, खमाले, चागपाँडे, कवा र भागेटीमा पनि एसइईपछि विवाह गर्ने किशोरी धेरै छन् ।
‘पढाइ छोडेर बीचैमा बिहे गर्ने अनि बच्चाले बच्चा जन्माएको देखेर साह्रै दुःख लाग्छ,’ खमाले गाउँकी महिला स्वास्थ्य स्वयंसेवीका मसरी बुढाले भनिन्, ‘समाजमा बालविवाह रोक्न र किशोर अवस्थामा आमा नबन्न अस्थायी परिवारनियोजनका साधन प्रयोग गर्न सल्लाह दिने गरेकी छु ।
तर, कसैले सुन्दैनन् ।’
Comments
Post a Comment