१८ वर्षीया कविता नेपाली बनिन् ‘बुगी उगी’को उपाधि विजेता, जितिन् २५ लाख



नेपालकै पहिलो फ्रेन्चाईजमा आधारित डान्सिङ रियालिटी शो ‘बुगी उगी’को उपाधी कविता नेपालीले जितेकी छिन् । सर्लाहीकी १८ वर्षीया कविता नेपाली नेपालकै पहिलो डान्सिङ सुपरस्टार भएकी छन्।

एपी वान टेलिभिजनद्वारा आयोजित अन्तर्राष्ट्रिय डान्सिङ रियालिटी सो ‘बुगीवुगी’को फाइनल राउन्डमा आफ्ना अन्तिम दुई प्रतिस्पर्धीलाई उछिन्दै उनले उक्त उपाधि चुमेकी छिन्। उपाधिसँगै उनले नगद २५ लाख पनि जितिन्।

दोश्रो स्थान तनँहुकी प्रतिभा पुन मगरले हात पारिन् भने तेश्रो सरोज मोक्तानले तेश्रो स्थानमा चित्त बुझाउनुपर्यो । फ्रस्ट रनरअप प्रगतिले ६ लाख जितेकी छिन् भने सेकेन्ड रनरअप सरोजले चार लाख नगद पाएका छन् ।

बुगीवुगीका लागि अनलाइन अडिसनमार्फत् देशभरबाट तीन हजार डान्सर सहभागी थिए। तीमध्ये एक सय ५० जना डान्सरलाई दोस्रो राउन्डको अडिसनका लागि काठमाडौं बोलाइएको थियो। उनीहरू मध्येबाट १८ जना प्रतियोगी छानिए।

त्यसबाट पनि भिडियो राउन्ड, कला प्रदर्शन राउन्डलगायत विभिन्न चरणका कठिन सिँढी उक्लँदै उत्कृष्ट तीन छनोट भएका हुन्। अन्तिम राउन्ड दुई सातासम्म चलेको थियो।

करिब आठ महिनासम्म चलेको यो कार्यक्रमको निर्णायकमा अभिनेता दिलीप रायमाझी, अभिनेत्री प्रियंका कार्की र कोरियोग्राफर कविराज गहतराज रहेका थिए। ५० प्रतिशत निर्णायक र ५० प्रतिशत दर्शकको भोटका आधारमा उत्कृष्ट डान्सर छनोट गरिएको हो।

कार्यक्रमका डाइरेक्टर एलन श्रेष्ठ, कार्यक्रम प्रमुख सुरेश पौडेल, कोरियोग्राफरहरू, प्रशान्त तामाङ, रोहिया महर्जन रहेका छन्। यसलगत्तै नेपाल आइडल सिजन टु साउन २४ गतेबाट सञ्चालन हुँदैछ।

Comments