निर्मला पन्त हत्या प्रकरणमा दुईजना केटा मुछिए, ‘भीआइपी’ का छाेरा र भतिज, यस्तो रहेछ भित्री रहस्य


कञ्चनपुर । १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि भएको हत्याबारे नयाँ टि्वस्ट सतहमा आएको छ ।

घटना भएको २४ दिनसम्म कानमा तेल हालेर बसेको प्रहरीले भदौ ४ गते एकजना मानसिक रोगीलाई हत्याराका रुपमा सार्वजनिक गरेपछि स्थानीयवासीले किन पत्याएनन् ? के स्थानीयवासीले बलात्कारी र हत्यारा को हो भन्ने सुइँको पाएका छन् ? यसबारेमा अनलाइनखबरले प्रारम्भिक खोजी गर्दा केही अनौठा तथ्यहरु फेला पारेको छ ।

यो घटनामा लामो समयसम्म प्रहरीले किन सफलता हात पारेन ? अनि स्थानीयवासीहरुले प्रहरीबाट बलात्कारीका रुपमा सार्वजनिक गरिएको व्यक्तिमाथि किन पत्यार गरेनन्, यी दुईवटा प्रश्नको वीचमा कुनै स्वयं प्रहरीबाटै गडबडी भइरहेको दाबी कञ्चनपुरवासीहरुको छ ।

आउनुहोस् निर्मला पन्तको हत्या र बलात्कार प्रकरणबारे केही तथ्यहरु केलाऔं । सुरुमा चर्चा गरौं, निर्मला पन्तको परिचयबाट ।

गरीबकी छोरी घर फर्किइनन्, प्रहरीले हत्यारा खोजेन

गत साउन १० गते बलात्कारपछि हत्या गरेर उखुबारीमा फालिएकी निर्मला पन्त कञ्चनपुरको भीमदत्त पन्त नगरपालिका- २ स्थित खोल्टी भन्ने ठाउँकी बासिन्दा थिइन् । उनी स्थानीय सरस्वती माविमा कक्षा ९ मा पढ्दै थिइन् । उनी सामान्य एवं गरिब परिवारकी सदस्य थिइन् । उनका आमाबुबा ज्याला मजदुरी गर्ने वर्गका मानिस हुन् ।

निर्मला पन्तको घर
साउन १० गते निर्मला करिब २ किलोमिटर टाढा वडा नम्बर १८ मा रहेको साथीको घरमा होमवर्क गर्न र नोटबुक लिनका लागि साइकल चढेर निस्किइन् । समय दिउँसो ११ बजेतिरको थियो । उनी आफ्नी आमालाई जानकारी गराएर साथी आँचल भनिने रोशनी बमको घरमा गएकी थिइन् । तर, त्यहाँबाट उनी फर्किइनन् । बरु भोलिपल्ट बिहान ९ बजेतिर वडा नम्बर १८ र २ को सीमानामा पर्ने सडक छेउमा रहेको लोकेन्द्र भट्टको उखुबारीमा निर्मलाको शव भेटियो । अलि पर साइकल र किताबकापीहरु फेला परे ।



जघन्य अपराधको घटना भएको तीन हप्तासम्म कञ्चनपुर जिल्ला प्रहरीले अपराधी पत्ता लगाउन तदरुकता देखाएन । स्थानीयवासीले प्रहरी प्रशासनलाई दबाव दिइरहे, आन्दोलन भयो, तैपनि प्रहरीले दोषीलाई पत्ता लगाएन । स्थानीयवासीको दाबी के छ भने शंकाको सुई भीआईपीहरुतिरै सोझिएका कारण प्रहरीले घटनाको जरोसम्म पुग्नै चाहेन ।

घटना भएको २४ दिनपछि भदौ ४ गते मृतक निर्मला पन्तकै गाउँको एकजना मानसिक अवस्था ठीक नभएको ४१ वषर्ीय दीपकराज विष्टलाई प्रहरीले बलात्कारी एवं हत्यारा भन्दै सार्वजनिक गर्‍यो । प्रहरीको यो कार्यलाई स्थानीयवासीले पत्याएनन् । निर्मलाकै परिवारले पनि पत्याएनन् । र, स्वतःस्फूर्त आन्दोलन चर्कियो ।

मानसिक अवस्था ठीक नभएको व्यक्तिलाई हत्याराका रुपमा प्रस्तुत गरेर एसपी डिल्लीराज बिष्टले वास्तविक अपराधीलाई जोगाउन खोजेको स्थानीयवासीले आरोप लगाए । वास्तविक अपराधी पत्ता लगाउन माग गर्दै विहीबारदेखि आन्दोलन चर्चियो ।
आन्दोलनले उग्र रुप लिएपछि सरकारले विहीबार कञ्चनपुरका एसपी डिल्लीराज विष्ट, डीएसपी र सिडियो कुमारबहादुर खड्कालाई हटायो र उनीहरुका ठाउँमा एसपी कुबेर कठायत र तारानाथ अधिकारीलाई गृहमन्त्रालयले जिल्लामा पठायो । साथै गृहमन्त्रालयले एउटा छानविन समितिसमेत गठन गरेको घोषणा गर्‍यो ।

विहीबारको सरकारको निर्णयपछि आन्दोलन लगभग मथ्थर जस्तै भइसकेको थियो । शुक्रबार बिहान स्थानीय व्यवसायीहरुले अब आन्दोलन नगर्ने र घटनाको छानविन गर्न दिने सहमति पनि गरेका थिए । तर, शुक्रबार साँझ फेरि आन्दोलन चर्कियो र प्रहरीको गोलीले एकजनाको मृत्यु हुनुका साथै केही व्यक्तिहरु घाइते बने । शुक्रबार साँझाको गोलीकाण्डपछि कञ्चनपुर फेरि तनावग्रस्त बनेको छ । र, जिल्लाको यो घटनाले सिंहदरबारमा समेत हलचल मच्चन थालेको छ । शुक्रबार साँझ नै नेकपा अध्यक्ष प्रचण्डले केपी ओलीलाई फोन गरेर यो घटनालाई गम्भीर रुपमा लिन भनेका छन् ।

भीम रावलले ‘राजनीति’ घुसाए

शुक्रबार बिहान महेन्द्रनगर लगभग शान्तजस्तै भइसकेको थियो । तर, नेकपाका नेता भीम रावलको एउटा राजनीतिक अन्तरवार्ता बाहिर आएपछि आन्दोलन भड्कियो । रावलले शुक्रबार बिहान ऋषि धमलासँगको अन्तरवार्तामा भने- ‘नेपाली कांग्रेसका केही मानिसहरुले जनतालाई उत्तेजित बनाएर अपराधमाथि ढाकछोप गर्न नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ता, त्यहाँका जनप्रतिनिधिलाई आक्रमण गरिरहेका छन्, त्यो निन्दनीय छ ।’



यद्यपि रावलले त्यो घटना निन्दनीय भएकाले दोषीमाथि हदैसम्मको कारवाही हुनुपर्ने र यसका लागि सरकारले छानविन समिति पनि बनाएको बताएका थिए । नेकपाले अपराधीलाई कारवाही गर्ने कुरामा रावलले प्रतिवद्धतासमेत व्यक्त गरेका थिए । तर, स्थानीयवासी रावलको विरोधमा सडकमा उत्रिए ।

एक त स्थानीयवासीहरु यो बलात्कार र हत्याको घटनामा प्रहरी र नेकपाका नेताका परिवारजनमाथि नै छानविन हुनुपर्ने माग गरिरहेका थिए, त्यहीबेला रावलले कांग्रेसमाथि दोषारोपण गरेपछि यसले राजनीतिक आकार लियो । भलै, निर्मलाका हत्यारामाथि कारवाहीको माग कुनै एउटा पार्टीले गरेको नभएर सिंगै जिल्लाबासीहरुको स्वतस्फूर्त माग थियो ।

नेकपा नेता भीम रावलको कांग्रेसविरोधी अभिव्यक्तिलाई लिएर शुक्रबार साँझ ५ बजेतिर नेविसंघका कार्यकर्तासमेतले जुलुस प्रदर्शन गर्दा झडप भयो । जिल्ला प्रशासन कार्यालयअगाडि धर्ना र विरोध प्रदर्शन भयो । उनीहरु त्यहाँ टायर बालेर प्रदर्शन गरिरहेका थिए । प्रहरीले प्रदर्शन हटाउनका लागि बल प्रयोग गर्‍यो । प्रहरीको बल प्रयोगपछि झडपको स्थिति भयो । प्रहरीले दर्जनौं सेल अश्रुग्यास प्रहार गर्‍यो । हवाई फायर गर्‍यो । त्यति गर्दा पनि भीड नियन्त्रणमा नआएपछि गोली चलायो । त्यसक्रममा एक बालकको मृत्यु भयो । अरु ४ जना गोली लागेर घाइते भए ।

यसअघि पनि प्रहरीको लाठीचार्ज र गोलीबाट घाइते भएका मध्ये एक जनाको अहिले काठमाडौंमा उपचार भइरहेको छ भने एक जनाको जिल्लामै उपचार भइरहेको छ । शुक्रबारको घटनामा समेत गरी ६ जना अस्पतालमा छन् । अरु सामान्य घाइते बन्नेहरु धेरै छन् । प्रहरीले पनि आफ्नो तर्फ केही प्रहरीहरु घाइते भएको बताउँदै आएको छ ।

शुक्रबारको प्रदर्शनमा प्रहरीले हस्तक्षेप गर्ने र गोली नै चलाउनुपर्ने स्थिति नरहेको स्थानीय बताउँछन् । तर, प्रहरी प्रशासन निकै नै आत्तिएको र डराएको हुनाले यसले गोली चलाएको देखिन्छ । केही दिनयता चर्केको स्वतस्फूर्त आन्दोलनका कारण प्रहरीहरु निकै आत्तिएका देखिन्छन् । जिल्ला प्रशासनको गेटै अगाडि प्रदर्शन भएकाले पनि प्रहरीहरु बढी आत्तिएको देखिन्थे ।

शुक्रबारको घटनापछि अब कञ्चनपुर झनै तनावग्रस्त हुने स्थिति देखिएको छ । कञ्चनपुरमात्रै होइन, शुक्रबार कैलालीमा समेत केही युवाले नाराजुलुस गरे । गोलीकाण्डपछि शनिबारदेखि झनै आन्दोलन चर्किने खतरा बढेको छ ।

निर्मल प्रकरणसित जोडेर शुक्रबार स्थानीयले भीमदत्त नगरपालिकाका मेयरको घरमा पनि तोडफोडको प्रयास गरेका छन् ।

त्यो रहस्यमय घर

निर्मला पन्त किताव लिनका लागि जुन घरमा गइन् । तर, त्यो घरदेखि नै यो घटना एकदमै रहस्यमय छ । त्यो घर दुईतल्ले छ, त्यहाँ बम दिदीबहिनीमात्रै बस्थे । उनीहरुका बुबाआमा दार्चुला भन्ने ठाउँमा बस्ने गरेका थिए । घरमा उनका छोरीहरु रोशनी आँचल र बबिता मात्रै बस्थे । निर्मलाकी साथी रोशनी १८ वर्षकी छिन् भने उनकी दिदी बबिता अझै जवान भइसकेकी छिन् । उनीहरुको घर लगभग रित्तैजस्तो भए पनि भाडामा लगाइएको छैन ।

स्थानीयका अनुसार त्यो घरमा दुईजना केटाहरु प्रायाः आवत-जावत गरिरहन्थे । पछि पत्ता लागेअनुसार ती दुईजना केटाहरुमा एकजना कञ्चनपुरकै एसपी डिल्लीराज विष्टका छोरा रहेछन् । अर्काचाहिँ भीमदत्त नगरपालिकाका मेयरका भतिजा रहेछन् । स्थानीयका अनुसार दिदी बहिनीमात्रै भएको त्यो घरमा ती दुई युवकहरु बाक्लै आउने-जाने गर्थे ।

स्थानीयबासीको माग के रहेछ भने निर्मलाको बलात्कार र हत्या प्रशरणपश्चात एसपीका छोरा र मेयरका भतिजालाई पनि प्रहरीले छानविनको दायरामा ल्याओस् र उनीहरु दोषी भए नभएको जनसमक्ष स्पष्ट पारोस् । निर्मला गएकी घरमा बस्ने आँचल र बबिता बममाथि पनि अनुसन्धान गरियोस् । तर, प्रहरीले २४/२५ दिनसम्म उनीहरुमाथि कुनै अनुसन्धान नगरी फ्याट्ट मानसिक रोगीलाई बलात्कारीको पगरी भिराएपछि स्थानीयवासी सडकमा उत्रिएको स्रोत बताउँछ ।

त्यो रहस्यमय घरबाट निर्मला हराएपछि पाइएका केही तथ्यहरु झै रहस्यमय छन् । जस्तो- घटनास्थलमा निर्मलाका किताब कापी भेटिएका थिए । तर, किताब पानीले भिजेका थिएनन् । जबकि त्यहाँ रातभरि पानी परेको थियो ।

Comments