
हरेक वर्ष चीनका राष्ट्रपति, प्रधानमन्त्री, परराष्ट्रमन्त्री लगायत उच्चपदस्थ सरकारी प्रतिनिधिहरूको विदेश यात्रा चलिरहेको हुन्छ। यो दौडधुप नेपालका नेताहरूले गरेको भए, परिवार र नातागोतासहित निस्कन्थे र ‘ विदेश शयर’ गरेको भनेर आलोचना पनि खप्टिन्थ्यो। कहिलेकाहीं त्यस्तै दृष्टान्त पनि देखिन्छ। तर चिनियाँ पदाधिकारीको वैदेशिक दौड भने निःसन्देह देशको कूटनीतिक जोडघटाउमा केन्द्रित हुने गर्दछ।
चीनका राष्ट्रपतिले प्रत्येक वर्ष कुनै देशमा गर्ने भ्रमणबाट प्राप्त कूटनीतिक सफलतालाई चीनले उपलब्धीको रूपमा लेखाजोखा गर्ने गर्दछ र भविष्यमा ती देशसँगको सम्बन्ध प्रगाढ हुने गरी पच्छ्याउने पनि गर्दछ। त्यसको फलोअपका रूपमा चिनियाँ नेताहरूले भेटेर वा टेलिफोन गरेर विगतका मतैक्यताहरूबारे सम्झाउने गरेका हुन्छन्। चीनमा योजनावद्ध रूपमा कूटनीतिक उतारचढावहरूको मूल्यांकन र समीक्षा हुने गर्दछ।
पश्चिमा पात्रो अनुसार सन् २०१८ शुरू भएसँगै चीनले आफ्ना परियोजना सफल पार्नका लागि पनि कूटनीतिक रफ्तार बढाइरहेको छ। आधा वर्ष पार भैसक्दा चीनले कूटनीतिक सम्बन्ध तीब्र पारेको छ।
सन् २०१३ को सेप्टेम्बरमा चिनियाँ राष्ट्रपतिले अघि सारेको बेल्ट एण्ड रोड इनिसियटिभ (बीआरआई) को ५औं वार्षिकोत्सव आउनै लाग्दा चीनले कूटनीतिक निकटतामार्फत् प्रचूर समर्थन जुटाउन खोजिरहेको छ। आफूले चालेको अभियानमा विश्वलाई एकाकार गराउन चीनले गर्ने अर्थपूर्ण भेटघाट र अवधारणाको फैलावटले निर्दिष्ट लक्ष्यमा पुग्न भूमिका खेल्दछ।
बेल्ट एण्ड रोड परियोजनालाई चिनियाँ कम्युनिष्ट पार्टीको विधानमा समेटेर चीनले कूटनीतिको एउटा पाटोको रूपमा समाविष्ट गरेको छ। गत वर्षको कात्तिकमा सम्पन्न चिनियाँ कम्युनिष्ट पार्टीको १९औं महाधिवेशनबाट बीआरआई पार्टी विधानमा समेटिएपछि विश्वको कूटनीतिक ध्यान चीनतर्फ आकर्षित हुनुपर्ने अर्को कारण बनेको छ।
Comments
Post a Comment