२२ वर्षीया शिखा घिमिरे हत्याकाण्ड बारे बाहिरियो यस्तो गोप्य कुरा,हत्यारा दिनेश भट्टराईबीच जेठमै विवाह भएको खुलाशा



मोरङको ग्रामथान ३, सिद्रहामा शुक्रबार हत्या गरिएकी विराटनगर १३ की २२ वर्षीया शिखा घिमिरे र हत्या आरोपी दिनेश भट्टराईबीच तीन महिनाअघि नै विवाह भइसकेको परिवारका सदस्यले बताएका छन् ।

दिनेशले शिखासँग ‘कोर्ट म्यारिज’ गरेको पारिवारिक स्रोतले बताएको छ । दिनेशकै खर्चमा दुवैजना ‘डिपेन्डेन्ट भिसा’ मा अस्ट्रेलिया जाने तयारीमा थिए । शिखाको शनिबार दाहसंस्कार गरिएको छ । यो खबर आजको कान्तिपुर दैनिकमा देवनारायण साहले लेखेका छन्।

दाहसंस्कारमा दुवैतर्फका परिवारका सदस्य सहभागी भएका छन् । काठमाडौंको एक पस्मिना उद्योगमा प्रिन्टिङ डिजाइनको काम गर्दै आएका मध्यमवर्गीय परिवारका कृष्ण घिमिरेले छोरी शिखालाई स्थानीय दिनेश भट्टराईसँग जेठमै कानुनी रूपमा विवाह गरिदिएको बताए ।

‘दिनेश र शिखा दुवै डिपेन्डेन्ट भिसामा अस्ट्रेलिया जाँदै थिए,’ उनले भने, ‘उनैले शिखालाई हत्या गरेको पत्याउनै गाह्रो भइरहेको छ ।’ अस्ट्रेलियाबाट दुई वर्षमा आएर धार्मिक विधिअनुसार विवाह गर्न दुवै परिवार सहमत रहेको अवस्थामा किन हत्या गरेको हो भन्ने बुझ्नै गाह्रो भएको कृष्णले सुनाए ।



उनले शिखा स्थानीय गोदावरी बोर्डिङ स्कुलमा कक्षा ६ मा पढ्दादेखि दिनेशले घरमै आएर ट्युसन पढाएको बताए । ‘शिखा र छोरा शेखर दुवैलाई दिनेशले एसएलसीसम्म ट्युसन पढाएका थिए,’ उनले भने, ‘शेखरसँगै दिनेशले भारतको सिलिगुडीमा बसेर नेटवर्किङ व्यवसायसमेत सञ्चालन गर्दै आएका थिए ।’

उनले दिनेश र शिखाबीच प्रेम रहेको आफूहरूले ६ महिनाअघि थाहा पाएको बताए । ‘दिनेशलाई घरमै बोलाएर सोधेपछि प्रेम सम्बन्ध पुष्टि भयो,’ कृष्णले भने, ‘डिपेन्डेन्ट भिसामा दुवैजना अस्ट्रेलिया जाने तयारीमा रहेको उनले बताए । छोरीको पनि यही इच्छा बुझेपछि स्वीकृति दियौं ।’

शिखाका भाइ शेखरले पनि दिनेशलाई आफूले राम्रोसँग चिने पनि अचानक यस्तो घटना सुन्दा चकित बनेको बताए । ‘मसँग दुई वर्षदेखि सिलिगुडीमा एउटै कोठामा बसेर नेटवर्किङ व्यवसाय गरिरहेका थिए,’ उनले भने, ‘अहिलेसम्म उनले कुनै नराम्रो व्यवहार गरेको थाहा छैन, चुरोट–रक्सी पनि खाँदैन थिए ।’

शिखाका काका गणेश घिमिरेले टोलमा दिनेशको अहिलेसम्म कुनै किसिमको नकारात्मक व्यवहार नदेखिएकाले घटना उनैले गरेको भनेर टोलवासीलाई पत्याउन गाह्रो भएको बताए ।

घटनास्थलबाट प्रहरीले फेला पारेको स्कुटर किन्दा पनि दिनेशले रकम दिएका थिए । शिखाकी आमा सुरेखा घिमिरे विराटनगर आँखा अस्पतालमा कार्यरत छिन् । शिखाले पनि ब्युटिपार्लर, सिलाइकटाइ र ट्युसन पढाएर आर्जन गर्दै आएको सुरेखाले बताइन् ।

शिखा पढाइमा अब्बल थिइन् । उनी स्थानीय गोदावरी स्कुलबाट एसएलसी, कोबास कलेजबाट व्यवस्थापनमा प्लस टु र मेरील्यान्ड कलेजबाट बीबीएसको अन्तिम वर्षको परीक्षा दिएकी थिइन् ।

Comments