निर्मला पन्त हत्या प्रकरणमा पक्राउ परेका बम दिदी-बहिनीलाई अदालतमा उपस्थित गराइयो,पोलिग्राफसमेत गर्ने तयारी


बालिका निर्मला पन्त हत्याको अनुसन्धानमा पक्राउ परेका रोशनी बम र बबिता बमलाई प्रहरीले अदालतमा उपस्थित गराएको छ। थुनामा राखी थप अनुसन्धानका लागि आदेश लिन प्रहरीले उनीहरुलाई जिल्ला अदालत कञ्चनपुरमा पेश गरेको हो।

आज अदालतमा उनीहरुलाई उपस्थित गराइएको कञ्चनपुरका एसपी कुबेर कठायतले बताए।

उनीहरुकै घरमा जाँदा पन्तको हत्या भएको थियो। तर, उनीहरुमाथि प्रहरीले राम्रोसँग अनुसन्धान नगरेको भन्दै मृतकका आफन्त प्रहरीसँग रुष्ट भई आन्दोल गरेका थिए। रोशनी निर्मलाकी साथी हुन्।

जिल्लामा नयाँ प्रहरी नेतृत्व गएपछि उनीहरु शनिबार पक्राउ परेका थिए।

सहसचिव हरिप्रसाद मैनाली नेतृत्वको उच्चस्तरीय छानबिन समितिले घटनास्थल पुगेर अनुसन्धान गरिरहेको छ।



प्रहरीले यसअघि पनि दुवैलाई बोलाएर आवश्यक सोधपुछ गरेको थियो। तर, नियन्त्रणमा भने लिएको थिएन। उनीहरुलाई आवश्यक परे पोलिग्राफ टेष्टसमेत गर्ने भएको छ। एसपी कठायतले भने,’ अनुसन्धान गर्दै जाँदा आइपरे पोलिग्राफसमेत गर्ने तयारीमा छौं।’

गत साउन १० गते पन्तको बलात्कारपछि हत्या भएको थियो। प्रहरीले स्थानीय दिलीपसिंह बिष्टले हत्या गरेको भन्दै सार्वजनिक गरेको थियो। तर, प्रमाण जुटाउन नसक्दा उनी नक्कली अभियुक्त भएको आरोप पीडित पक्ष र अन्यले लगाएका छन्।

Comments