
प्रदेश नं ७ का आन्तरिक मामिला तथा कानूनमन्त्री प्रकाश शाहले निर्मला पन्त र सनी खुनाका परिवारसँग भेटवार्ता गर्नुभएको छ ।उहाँले कञ्चनपुरको भीमदत्तनगरपालिका–२ खोल्टीका बलात्कारपश्चात् हत्या गरिएकी १३ वर्षीया पन्तका परिवार र सोही नगरपालिकाको वडा नं १८ सालघारीका प्रदर्शनका क्रममा प्रहरीको गोली लागेर मृत्यु भएका १४ वर्षीय खुनाका आफन्तसँग घरमै गएर आज भेटघाट गर्नुभयो ।भेटघाटका क्रममा मन्त्री शाहले पीडित परिवारसँग घटनाका बारेमा जानकारी लिनुका साथै प्रदेश सरकारका तर्फबाट दुवै परिवारलाई रु पाँच÷पाँच लाखका दरले राहतस्वरुप रकम उपलब्ध गराउने घोषणा गरिएको जानकारी गराउनुभयो ।
उहाँले उच्चस्तरीय टोलीले अनुसन्धान थालेकाले अपराधी उम्केर नजाने बताउनुभयो । निर्मलाका बुबा यज्ञराज पन्तले मन्त्री शाहलाई राहतको रकमभन्दा दोषी पत्ता लगाई सरकारले लागू गरेको कानूनअनुसार कारबाही हुनुपर्ने बताउनुभयो ।“हामीलाई न्याय चाहिएको छ”, उहाँले भन्नुभयो, “दोषीमाथि तत्काल कारबाही होस् ।” मन्त्री शाहले यसअघि प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकाय लगायतसँग सुरक्षाको अवस्थाबारे जानकारी लिनुभएको थियो । मन्त्री शाहसँगै प्रदश नं ७ का प्रदेशसभा सदस्य र नेकपाका नेता लेखराज भट्टलेसमेत भेटघाट गर्नुभएको छ ।यसैबीच उच्चस्तरीय अनुसन्धान टोलीले समेत बालात्कारपश्चात् हत्या गरिएकी पन्तका परिवारसँग घटनाबारे जानकारी लिएको छ ।
Comments
Post a Comment