विद्यार्थी भिसामा आउनेका लागि अमेरिकामा नयाँ नियम !



अमेरिकी सरकारले बिहिबारदेखि लागु हुनेगरी अमेरिकामा विद्यार्थी भिसामा आउनेहरुको गैरकानुनी उपस्थीतिबारे नयाँ नियम लागु गरेको छ । ३० दिनसम्म मागिएको सार्वजनिक प्रतिकृयापछि युएससीआईएसले अन्तिम निर्देशिका जारी गरेको हो ।

अगस्त ९ देखि लागु गरिएको नयाँ नियम अनुशार एफ र एम भिसामा अमेरिकामा आएर स्टाटस विहिन हुने विद्यार्थीहरुले भिसा बहालीका लागि समयमै आवेदन दिएमा आवेदन दिएको दिनदेखि आवेदन फैसला नहुँदासम्म गैरकानुनी उपस्थीतिको गणना नगरिने भएको छ । तर यदि आवेदन अस्वीकृत भएमा भने अस्वीकृत भएको भोलिपल्ट देखि गैरकानुनी उपस्थीति गणना गरिनेछ ।

अमेरिकामा गैर आप्रवासीमा भिसामा आएको व्यक्तिको १८० दिनभन्दा धेरै र १ बर्षभन्दा कम गैरकानुनी उपस्थीति रहेको छ भने उसलाई अमेरिका पुन प्रवेशमा ३ बर्षको प्रतिबन्ध लाग्ने नियम रहेको छ । १ बर्षभन्दा धेरै गैरकानुनी उपस्थीति रहेको व्यक्तिलाई अमेरिकामा १० बर्षको प्रतिबन्ध लाग्ने नियम रहेको छ ।

अमेरिकामा एफ, जे र एम भिसामा आउनेहरुको गैरकानुनी उपस्थीतिका सन्दर्भमा यसअगाडि रहेको नियम परिवर्तन गर्दै नयाँ नियम ल्याइएको हो । समयमै भिसा बहालीको लागि दिइने आवेदन भन्नाले बहालीका लागि आवेदन दिनेदिनसम्म उक्त विद्यार्थी आउट अफ स्टाटस भएको ५ महिनाभन्दा बढी भएको हुनुहुँदैन । अर्थात् कुनै विद्यार्थी अमेरिकामा आउट अफ स्टाटस भएमा उसले स्टाटस गुमाएको ५ महिनाभित्र नै भिसा बहालीका लागि आवेदन दिनुपर्छ ।



यदि पुन बहालीका लागि दिइएको आवेदन अस्वीकृत भएमा त्यसको भोलिपल्ट देखि नै गैरकानुनी उपस्थीति गणना हुने भएकाले विद्यार्थीले तुरुन्त ६ महिना नपुग्दै अमेरिका छाड्न आवश्यक छ । अन्यथा उसलाई अध्यगमन कानुनको सेक्सन २१२ ए, ९ अनुशार अमेरिका पुन प्रवेशमा ३ देखि १० बर्षको प्रतिबन्ध लाग्नेछ ।

पुन बहालीका लागि दिइएको आवेदन स्वीकृत भएमा भने आउट अफ स्टेटस भएको ५ महिनाभन्दा कम समयको अवधिलाई गैरकानुनी उपस्थीतिमा गणना नगरिने युएससीआईएसले स्पष्ट पारेको छ । जे भिसाको सन्दर्भमा पनि सोही नियम लागु हुने र डिपार्टमेन्ट अफ स्टेटले जे भिसा पुनबहालीका लागि स्वीकृत गरेमा आउट अफ स्टेटस भएको ५ महिना भन्दा कम समयको अवधिलाई गैरकानुनी उपस्थीतिका रुपमा गणना गरिनेछैन ।

अमेरिकी सरकारले ल्याएको यो नयाँ नियमले विद्यार्थी भिसामा अमेरिका आउनेहरु सानो गल्तीका कारणपनि देशनिकाला हुनसक्ने र पुन अमेरिका आउनका लागि १० बर्ष वा सधैका लागि प्रतिबन्ध लाग्नसक्ने खतरा देखिएको छ । अगस्त ९ देखि विद्यार्थी भिसामा आउनेहरुको गैरकानुनी उपस्थीतिको नयाँ मापदण्ड लागु गरिएको हो । अब अमेरिकामा एफ, एम र जे भिसामा आउनेहरुले भिसाको उल्लंघन गरेको पत्ता लागेमा उनीहरुमाथि ३ वा १० बर्षको प्रतिबन्ध सजिलै लाग्ने भएको छ ।

अमेरिकामा सार्वजनिक सुरक्षा समृद्ध गराउने सन्दर्भको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको कार्यकारी आदेश कार्यान्वयनका क्रममा नयाँ नियम ल्याइएको युएससीआईएसले जनाएको छ । यो नयाँ नियम एफ, जे र एम भिसामा अमेरिका आउनेहरु तथा उनीहरुका डिपेन्डेन्टहरुका सन्दर्भमा लागु हुने जनाइएको छ ।

Comments