जनताको करमा मेयरको रजाइ ! एक करोड २१ लाख मुल्यको गाडि खरिद



धनगढी- जनतालाई प्रत्यक्ष रुपमा विकासको अनुभुती दिलाउन निर्वाचित भएका केहि जनप्रतिनिधीहरु सबैभन्दा पहिले आफ्नै सेवा सुविधा थप्नमा तल्लिन बनेका छन्।

अछामको सदरमुकाम मंगलसेन नगरपालिकाका केहि वडामा अहिले पनि सडक पुगेको छैन भने बर्षायाममा मेयरको घर देखि बजार सम्म मात्र गाडी चल्न सक्ने सडक छ। त्यो पनि राष्ट्रिय सडक भएकाले हिउँद-बर्षातमा चल्छ भने बजारको पुरै भल सडकमै बग्ने भएकाले पक्कि माथि ग्राइभेल हालिएको छ। सोही नगरपालिकाका मेयरले एउटा गाडी हुँदाहुँदै आफ्नो लागि सवा करोडको नयाँ गाडी थपेका छन्।

दुई बर्ष पहिले मात्र किनिएको करिव आधा करोड पर्ने गाडी हुँदाहुँदै मेयर पदमबहादुर बोहराले पद सम्हालेको एक बर्ष नपुग्दै एक करोड २१ लाख मुल्य पर्ने फोर्ड कम्पनीको इन्डेभर कार खरिद गरेका छन्। १४ वडा रहेको मंगलसेन नगरपालिकाको वडा नम्बर १३ मध्ये सबै वडाका टोलटोलमा सडक पुगेको छ तर बर्षायाममा भने मेयरको घरदेखि कार्यालय सम्मको करिब तीन किलोमिटर सडकमा मात्र उक्त गाडी गुड्न सक्ने अवस्था छ।

जनताको काम गर्छु भनी निर्वाचित भएका मेयरले जनतालाई प्रत्यक्ष सरोकार राख्ने बिषयमा भन्दा पनि आफैंलाई सुविधायुक्त गाडी थप्नेतर्फ बढी चासो दिएको भन्दै स्थानीयस्तरमा व्यापक आलोचना भइरहेको छ।



नगरपालिकामा राम्रै गाडी हुँदाहुदै मेयरले अर्को गाडी किन्न आवश्यक नरहेको स्थानीय बताउछन्। गाडी किने पनि सवा करोडको नकिनेर त्यसको आधा मुल्यको गाडी किनेर बाँकी रकम विकास निर्माणमा खर्च गरेको भए राम्रो हुने स्थानीयले बताए। नगरसभाले गाडी खरिदका लागि ६० लाख बजेट विनियोजन गरेकोमा त्यसले राम्रो गाडी नआउने भएपछि बिकास बजेटमा थप ६० लाख रकम कटौती गरेरे गाडी किनिएको नगरपालिका स्रोतले जनाएको छ।

मेयरले सवा करोडको गाडी चढ्ने त्यहि नगरपालिकाको वडा नम्बर १३ बस्ती जहाँका स्थानीय सात-आठ घण्टा पैदल हिँडेर नगरपालिकामा सेवा लिन आउनुपर्ने बाध्यता छ।

‘मेयर सापले करोडौंका गाडी चढ्नु भन्दा कम मुल्यको चढेर बस्तीसम्म सडक पुर्‍याउने काम गरेको भए राम्रै हुन्थ्यो’ बस्तीका धनबिर खन्नीले भने,‘जनताको सेवा गर्छु भनि मत माग्ने नेता ज्यू आज आफ्नै सुविधा विस्तारमा व्यस्त छन्।’बोहरासम्म पराजित मेयरका उम्मेदवार चन्द्रप्रसाद ढुंगानाले करोडौँका गाडी किनेर मेयर जनताप्रति उत्तरदायी हुनुभन्दा पनि सुविधामुखि हुन खोजेको बताए।

सदरमुकाम मंगलसेन बजारबाट जिल्ला अस्पताल जाने सडकको निकै दुरावस्था छ भने पैदल हिँडेर अस्पताल जाने बाटो निकै जोखिमपूर्ण छ। मेयरले आफूलाई करोडौंको गाडी किन्नु भन्दा हिलाम्य अस्पताल जाने बाटोमा चार-पाँच लाख मात्रै खर्च गरेर भए पनि ग्राभेल गरेको भए धेरैलाई राहत हुने एक कर्मचारीले बताए।

अस्पताल जाने सडकका खाल्डामा ग्राभेल र पैदलै हिँड्ने बाटोमा पक्कि सिँडी मात्र निर्माण गरे पनि मेयरले स्याबासी पाउने उनले सुनाए। अछाम बहुमुखी क्याम्पस देखि अस्पताल जाने उकाले बाटो हिलाम्य हुँदा हिँडडुलमा निकै कडिनाई हुने गरेको छ।



मंगलसेनका मेयर मात्रै हैन अछाममा अन्य दुई वटा स्थानीय तहका प्रमुख पनि गाडीप्रेमी छन्। बिनायक पञ्चदेवल नगरपालिकाका मेयर देवराज देवकोटा र ढकारी गाउँपालिकाका प्रमुख धनबहादुर बुढा पनि ८० लाख बढी पर्ने प्राडोमा चढ्छन्।

बर्षायाममा स्थानीय तहका केन्द्र सम्म पनि गाडी पुग्न नसक्ने अवस्थामा जनप्रतिनिधी चुनिएलगत्तै उनीहरुले सुविधायुक्त गाडी खरिद गरेका हुन् । जनताको सेवामा भन्दा पनि आफ्नै सेवा सुविधामा बढी चाँसो दिएको भन्दै जनप्रतिनिधीहरु आलोचनाको पात्र बन्न थालेका छन्।

जनताले आफ्नै सेवासुविधाका लागि चुनेर पठाएका जनप्रतिनिधीले एल्टै जनता माथि बिभिन्न नाममा करको भार थोपरेर आलोचना खेपिरहेका बेला तलव सुबिधा लिने देखि करोडौँका प्राडो चढ्न थालेपछि जनप्रतिनिधीहरुको चौतर्फी बिरोध भइरहेको छ।

Comments