
काठमाडौ। चीन सरकारले २५ अर्ब खर्चेर पुरै चक्रपथ ८ लेनको बनाइदिने सम्झौता यसअघि नै भएको हो । चीन र नेपाल बीचको सोही सम्झौता बमोजिम कुल २७.२ किलोमिटर सडक ५० मिटरको चौडार्इमा हुनेछ । सम्झौता भएर सडक विस्तारको काम अघि बढिसकेको सडक विभाग, वैदेशिक समन्वय महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार चीनले पहिले बनाइदिएको चक्रपथलाई नै ८ लेनमा विस्तार गरिदिन लागेको हो। चक्रपथको पहिलो खण्डका रुपमा कोटेश्वर–कलंकी खण्डको ८ लेनमा विस्तार गर्ने कार्य सम्पन्न भएको । ५ अर्ब रुपैयाँ चिनियाँ अनुदानमा यो खण्ड विस्तार भैसकेको छ । कलंकीमा नेपालकै पहिलो अण्डरपास वे समेत बनेको छ । यो उद्घाटनको तयारीमा छ । यो अण्डरपास वे बनेपछि राजधानी प्रवेश गर्ने मुख्य नाकामा जामको समस्या हट्ने छ।
अब यही असोजबाट कलंकी–महाराजगञ्ज खण्डको काम सुरु गरिने छ । साइट क्लियर गरेको भोलिपल्टदेखि नै सडक विस्तार थाल्ने बताएपछि महाशाखाले साइट क्लियरका लागि भदौसम्मको समय मागेको छ। भदौसम्ममा सबै साइट क्लियर गरिसक्ने र असोजबाट चिनियाँ काम थाल्ने वैदेशिक समन्वय महाशाखाले जनाएको छ। महाशाखा प्रमुख श्रेष्ठले ढल, खानेपानी, विद्युत, टेलिकम लगायत सबै निकायलार्इ साइट क्लियर गरिदिन आग्रह गरिसकेको जानकारी दिए। ‘हामीले सम्बन्धित सबै निकायलार्इ साइट क्लियर गरिदिनकालागि पत्र काटिसकेका छौं, अहिले साइट क्लियर गर्ने प्रक्रिया अघि बढिरहेको छ ।
दोस्रो खण्ड कलंकी–महाराजगञ्ज थालेको तीन बर्षमा सक्ने महाशाखाले दाबी गरेको छ। यो खण्ड विस्तारका लागि करिव ६ अर्ब रुपैयाँ लाग्ने अनुमान गरिएको छ । यो खण्डको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार भैसकेको छ । सडक विभागमा अहिले यो डिपिआर स्विकृतिको प्रक्रियामा रहेको महाशाखाले जनाएको छ। त्यसपछि बाँकी रहेको महाराजगञ्ज–कोटेश्वर ८.६१ किमीको विस्तार कार्य अघि बढाउने योजना रहेको छ। कलंकी –महाराजगञ्ज खण्डको विस्तारसंगै बाँकी खण्डको पनि डिपिआर तयार पारिने महाशाखाले जनाएको छ। यो खण्डको सडक विस्तारका लागि ४ बर्ष लाग्ने अनुमान गरिएको छ। यो खण्डको सडक विस्तारका लागि १४ अर्ब रुपैयाँ लाग्ने प्रारम्भिक अनुमान गरिएको छ।
प्रारम्भिक सर्भे अनुसार चाबहिलबाट गौशला करिव १.३ किमी सडक विस्तारका लागि संवेदनशील रहेको महाशाखाले जनाएको छ। विश्व सम्पदा सूचीमा सूचीकृत पशुपति मन्दिर रहेकाले यो खण्डमा विकल्प खोज्ने महाशाखाको भनार्इ छ। यो खण्डमा फ्लार्इ ओभर वा अण्डरपास वे कुन उपयुक्त हुन्छ त्यसको बिस्तृत अध्ययन हुनेछ। अध्ययन पछि नै दुर्इ विकल्प मध्ये एक रोजिने महाशाखाले जनाएको छ। महाशाखाका अनुसार प्रारम्भिक सर्भेले भने अण्डरपास वे भन्दा फ्लार्इ ओभर उपयुक्त हुने देखाएको छ।
चक्रपथ सुधार आयोजनाका प्रमुख प्रकाशचन्द्र भण्डारीले असोजसम्म साइट क्लियर गरेर विस्तार थालिने जानकारी दिए ।अहिलेको १५ मिटर कालोपत्रे सडकलाई विस्तार गरेर ५० मिटर बनाउन लागिएको हो।
Comments
Post a Comment