सडकका गहना l

म्याग्दी — सडकमा दिनभर यात्रा गर्दा शरिर सिथिल बन्छ । सडक किनाराको दृष्य उजाड देख्दा मन विरक्त बन्छ । जथाभावी भौँतारिदा आनन्द हुँदैन । मनलाई नयाँपन, अनुभव चाहिन्छ । आँखाले देखेको दृश्य र मनले गरेको अनुभवले आनन्द मिल्छ । यात्रा रोमान्चक बन्छ ।हिमालपारी जिल्लाको मुस्ताङ पुगेपछि तपाईको दृश्यमा सबै नयाँपन हुन्छ । तर मुस्ताङ नपुग्दै लामो र अफ्ठ्यारो सडक छिचोल्नु पर्छ । कालीगण्डकी नदीसँगै लुकामारी गर्दै मुस्ताङतर्फ उक्लेको बेनी–जोमसोम सडक वारीपारीका दर्जन झरनाहरुले यात्रा झन् रामोञ्चक बनाइदिन्छ । बाह्रै महिना झर्ने यी झरनाहरु बेनी–जोमसोम सडकका गहना हुन् । पर्यटकीय महत्व राख्ने यी झरनाहरु पर्यटकले पदयात्रामा सितलता ताप्ने विसौनी समेत हुन् । बेनीबाट तीन किमी उत्तर लागेपछि भेटिन्छ, चमेरे झरना । छेवैमा छ, पुम्दीखोला छहरा । क्रमश: भेटिन्छन्, महभीर, टिमुरे, नारच्याङ्ग, रुप्से आदी । बेनी–जोमसोम सडकमा सवैभन्दा आकर्षक झरना हो, रुप्से झरना ।रुप्से छहराको सौन्दर्यमा लठ्ठ पोष्टराज चापागाईले मत्तकासिनी छन्दमा रुप्से झरनाको बखान यसरी गरेका छन् : साँच्चै स्वर्ग आ’थ्यो रुप्से छहरामा....आँखै चीत खा’थ्यो रुप्से छहरामा...........।कालीगण्डकी नदी कटानले बनाएको धौलागिरी र अन्नपुर्ण हिमश्रृंखला बीचको ६ हजार ९ सय ६७ मिटर गहिरो खोँचलाई संसारकै गहिरो गल्छी ‘अन्धगल्छी’ मानिन्छ । त्यही अन्धगल्छीमा अवस्थित रुप्से झरनामा मोहित बन्ने कवि/कलाकारहरुले सयौँ कविता र चित्र कोरेका छन् ।

Comments