गुफाबाट बालबालिकालाई सकुशल उद्धार गर्ने टोलीलाई उच्च सम्मान l

थाइल्याण्डको थामलुङ गुफामा १३ जना अलपत्र परेपछि अष्ट्रेलियाबाट एकजना एनेस्थेटिस्ट डाक्टर र ड्राइभरहरुसहित नौजनाको टोली उद्दारमा सहयोग पुर्‍याउन गएको थियो।

अष्ट्रेलियाली टोलीका उद्दार कार्यमा महत्वपुर्ण भूमिका निभाएका दुईजना डाक्टरलाई अष्ट्रेलियाको दोस्रो ठूलो बहादुरी सम्मान ‘स्टार अफ करेज’ ले सम्मानित गरिएको छ भने अन्य सातजनालाई ‘करेज अवार्ड’ प्रदान गरेको हो। सबैलाई अष्ट्रेलियाको महत्वपूर्णमध्येको ‘अर्डर अफ अष्ट्रेलिया’ मेडल समेत प्रदान गरिएको थियो।

अष्ट्रेलियाका गर्भनर जनरल पिटर कोसग्रोभले गर्भमेन्ट हाउस क्यानबेरामा मंगलबार आयोजना गरिएको एक विशेष कार्यक्रममा उनीहरुलाई उच्च सम्मानसहित मेडलहरु प्रदान गरेका हुन्।

विशेष कार्यक्रममा गर्भनर जनरल कसग्रोभले उद्दारकर्ताहरुलाई उनीहरुले देखाएको बहादुरीप्रति धन्यवाद दिदै समग्र अष्ट्रेलिया गौरवान्वित भएको बताएका थिए।

अष्ट्रेलियामा सामान्यतया यस किसिमका कार्यक्रमहरु वर्षमा एक पटकमात्र आयोजना हुने गरेको भएपनि उनीहरुलाई विशेष कार्यक्रममार्फत सम्मानित गरिएको थियो।

थाइल्याण्डमा आफ्नो ज्यानको बाजी राखेर १८ दिनसम्म थुनिएका १३ जनाको उद्दारमा सहयोग पुर्‍याएको भन्दै अष्ट्रेलिया सरकारले उनीहरुको बहादुरीको कदर गर्न सिफारिस गरेको थियो।

अष्ट्रेलियाका प्रधानमन्त्री माल्कम टर्नबुल तथा विपक्षी दलका नेता विल सर्टन सहभागी उक्त कार्यक्रममा प्रधानमन्त्री टर्नबुलले अष्ट्रेलियाली टोलीले अविश्वसनीय कार्य गरेको बताउँदै उनीहरुले देखाएको बहादुरीको प्रशंसा गरेका थिए।

अष्ट्रेलिया सरकारले आफ्नो देशको प्रतिनिधित्व गरेर विदेशमा जोखिमपुर्ण काम गर्ने आफ्ना नागरिकहरुलाई उच्च महत्व दिदै सम्मान गर्ने गरेको छ।

सोही नियम अनुसार नै थाइल्याण्डको गुफामा फसेकाहरुलाई सहयोग पुर्‍याउन गएकाहरुलाई अष्ट्रेलिया फर्किएको केही समयपछि नै विशेष कार्यक्रम गरेर उच्च सम्मान गरेको हो।
प्रकाशित : श्रावण ८, २०७५ १५:०१

Comments