नुवाकोट । नुवाकोटको सूर्यगढी गाउँपालिका-३ चोकदेमा पहिरोले घर गरिदा चार जना घाइते भएका छन्।
अविरल वर्षाका कारण आज बिहान ४ बजे घरमाथिबाट आएको पहिरोले नवराज श्रेष्ठकोे दुईतले कच्ची घर भत्काउँदा ५० वर्षीय निजका साथै उनकी श्रीमती ४६ वर्षीया निरु, छोरी २२ वर्षीया निशा र १८ वर्षीय छोरा विकास घाइते भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख तथा प्रहरी उपरीक्षक वसन्त कुँवरले जानकारी दिए।
घाइतेहरूलाई स्थानीय प्रहरीले उद्धार गरेर विदुरको सिटी अस्पतालमा उपचारका लागि लगेकामा अहिले उनीहरुको अवस्था खतरामुक्त रहेको प्रहरीले जनाएको छ।
घरमा किराना पसल र घरसँगै रहेको गोठमा १३ वटा बाख्रा, कुखुरा मर्नुका साथै घरभित्र रहेको सरसामग्री नष्ट भएको छ। प्रहरीले रु ६० लाख बराबरको क्षति भएको अनुमान गरेको छ।
यस्तै गए रातिको वर्षाकै कारण यहाँको तादी गाउँपालिका–५ बञ्चरेमा दुईवटा घर तथागोठ र खानेपानीको ट्याङ्की पहिरोले पुरेको छ। पहिरोका कारण अन्य ११ घर जोखिममा परेको छ।
बञ्चरेका वीरबहादुर तामाङ स्याङतानको घर तथा गोठ पहिरोले पुर्दा भित्र रहेको बाख्रा सात, कुखुरा १० वटा र अन्नपात लत्ताकपडा गरी रु १५ लाख बराबरको क्षति भएको प्रहरीको अनुमान छ।
यसैगरी सोही स्थानका हरिबहादुर लामाको घर तथा गोठ पहिरोले पुर्दा गाईभैँसी अन्नपात लत्ताकपडा गरी रु १५ लाखबराबरको क्षति भएको र सोही गाउँमा रहेको खानेपानीको ट्याङ्की पहिरोले भत्काउँदा रु सात लाख बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
तादी–५ बञ्चरेमा पहिरोको कारण ११ घर जोखिममा परेकाले उनीहरू सुरक्षित स्थानमा बसेका छन्।
Comments
Post a Comment