धादिङमा दुईजना झाँक्रीको हत्या गर्ने ३१ जनालाई पक्राउ, आजै जिल्ला अदालतमा पेश


दुई जनाको ज्यान जाने गरी भएको घटनामा संलग्न भएको आरोपमा प्रहरीले उत्तरी धादिङको गंगाजमुना गाउँपालिका–२ लतावबाट आज ३१ जनालाई पक्राउ गरी जिल्ला अदालतमा पेश गरेको छ ।

गाउँवासीको कुटपिटबाट दुई जनाको हत्या भएपछि शव गाउँमै जलाइएको र गाउँपालिका उपाध्यक्षसमेतलाई गाउँमा जान नदिइएको घटनामा संलग्न भएको आरोपमा प्रहरी टोलीले घटनास्थल पुगेर २७ पुरुष र चार महिलालाई पक्राउ गरी अनुसन्धान शुरु गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रामबहादुर केसीले बताउनुभयो ।

घटनामा गङ्गाजमुना गाउँपालिका– २ लतावका ६५ वर्षीय साहिँला तामाङ र ५४ वर्षीय नरुङ तामाङको मृत्यु भएको थियो । उनीहरुलाई गाउँमा मृत्यु भएका केही व्यक्ति आफूले मन्त्र गरेर मारेको, गाईवस्तुलाई समेत मन्त्र गर्ने गरेको र झाँक्री मन्त्रबाट मानिसलाई बच्चा पाउने नपाउने समेत बनाउन सक्ने भन्दै गाउँवासीलाई तर्साउपछि सिंहबहादुर तामाङका घरमा किरिया समापनको कार्यक्रम हुँदै गर्दा कुटपिट गरिएको थियो ।



गत असार ५ गते कुटपिट गरी गाउँमै बाँधेर राखिएका दुवै जनालाई गाउँवासीले असार ६ गते गाउँवासीसँग छलफल आयोजना गरी पुनः कुटपिट गरिएको थियो । घटनापछि दुवैको मृत्यु भएको र मृत्युपछि गाउँवासी मिलेर गाउँमा अन्य गाउँको मानिस आउन प्रतिबन्ध लगाई मृतकलाई डाँडामा लगेर जलाएका थिए । जलाइएको ठाउँमा प्रहरीले अनुसन्धान गर्दा अँगार र केही हाड बरामद गरेको छ ।

साहिँला झाँक्री काम गर्दैआएका व्यक्ति तथा नरुङ झाँक्रीको सहयोगी थिए । हिरासतमा लिइएका सबैलाई जिल्ला प्रहरी कार्यालयले बयान लिएको छ । घटनामा छानबिनपछि संलग्न नभएकालाई छाडिने प्रहरी नायब उपरीक्षक केसीले बताउनुभयो ।

Comments