
काठमाडौं– त्रिवि शिक्षण अस्पतालको एउटा कोठामा अनसन बसिरहेका डा गोविन्द केसीलाई आइतबार राति उनकी आमा भेट्न पुगेकी छिन्।
अनसनस्थलमा सुतिरहेका छोरालाई देखेपछि आमा मित्रकुमारीका आँसु झरे। आमाको आँसु झरेपछि डा केसीको आँखा पनि रसाए। बहिनीसँग आएकी डा केसीकी आमाले करिब ५ मिनेट छोरालाई नियालिरहिन्। डा केसीले पनि आमालाई हेरेर आँसु झारिरहे, केही बोल्न सकेनन्।
आमा-छोराका आँसु मात्र झरिरहेको देखेपछि डा केसीका सहयोगी, मेडिकल टिम समेत केही समय अवाक भएको थियो।
छोरालाई हेर्न आएकी आमा मित्रकुमारीले बरबरी आँसु झार्न थालेपछि डा केसीकी सानीआमाले लिएर बाहिर निस्केकी थिइन्।
डा केसीसँगै रहेका विशद दाहालका अनुसार उनीहरुले केही कुराकानी नै गर्न सकेनन्। दुवैका आँसु मात्र झरिरहे।
डा केसीले थालेको १५औं अनसन २३ दिन पुगेको छ।
Comments
Post a Comment