जुम्लामा ‘जसले टाउकोमा लाठी बर्साए उसैलाई रगत दिएर बचाए’



काठमाडौं । जुम्लाको सदरमुकाम खलङ्गास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान परिसरमा डा. गोविन्द केसी अनशन बसेका थिए । अनशनको २० औँ दिन बिहीबारसम्म आइपुग्दा उनको स्वास्थ्य नाजुक भएको भन्दै सरकारले हस्तक्षेप गरेर काठमाडौं ल्यायो ।

तर, काठमाडौं ल्याउने क्रममा प्रहरीको हस्तक्षेपविरुद्ध डा. केसीका समर्थक र चिकित्सक तथा नर्सले विरोध जनाए । सरकारले जबरजस्ती केसीलाई काठमाडौं ल्याउन खोजेपछि प्रतिकारमा उत्रिएका नर्स चिकित्सकमाथि अस्पताल परिसरमै प्रहरीले लाठी चार्ज र अश्रुग्यास प्रहार गरेको थियो ।

यसैक्रममा केही घाइते समेत भएका भनियो । सरकारको सो गतिविधिको विरोध जनाउँदै शुक्रबारबाट जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले आकस्मिकबाहेकका सेवा ठप्प पारेको छ ।

सेवा ठप्प पारेको विषयमा जानकारी दिन जारी गरिएको विज्ञप्तिमा बिहीबारको घटनामा नर्स र चिकित्सकमाथि लाठी चार्ज गर्ने घाइते प्रहरीलाई रगत दिएर बचाएको जानकारी दिए । विज्ञप्तिमा भनिएको छ, ‘यसै घटनाको सिलसिलामा सख्त घाइते प्रहरी जवानको उपचार यसै अस्पतालमा कार्यरत घाइते चिकित्सक एव् नर्सहरुबाट भएको जानकारी गराउँछौ । निजलाई १० पैण्ट रगत समेत दिइएको साथै जीवन रक्षा गर्ने आकस्मिक अप्रेशन गरी बाँकी उपचारको निम्ति एक बरिष्ठ चिकित्सकको साथमा हेलिकोप्टबाट काठमाडौँ पठाइएको पनि जानकारी गराउँछाैँ ।’

विज्ञप्तिमा मार्फत ती प्रहरी जवानको उपचार भइरहेका बेला प्रहरीकै जिम्मेवार व्यक्तिबाट मृत्युको गलत हल्ला फैलाइएको भन्दै भत्र्सना समेत गरिएको छ ।

Comments