साउदीमा ३८ नेपालीको यस्तो बिचल्ली, चार दिनदेखि भोकै



१ फागुन ०७४ मा साउदी अरब पुगेका ३८ नेपालीको बिचल्ली भएको छ । सम्झौताअनुसारको काम र तलब नपाउँदा अलपत्र परेका उनीहरुको बिजोग केही दिनदेखि झनै चरम भएको छ । चार दिनदेखि त उनीहरुले केही खान समेत नभएको गुनासो सुनाएका छन् । अलपत्र परेका खोटाङ जालपाका शेषन श्रेष्ठका अनुसार गत सोमबार बेलुकीदेखि उनीहरु भोकै छन् ।

अलपत्र परेकामध्ये अर्का मकवानपुरका सूर्यबहादुर बम्जनले खान, बस्न, पाकेको तलब उपलब्ध गराउन साउदीस्थित नेपालका लागि राजदूतावासले निर्देशन दिएको, तर अहिलेसम्म उपलब्ध नगराएको बताए ।

उनीहरुको सम्पूर्ण व्यवस्थापनका लागि वैदेशिक रोजगार विभागले सम्बन्धित मेनपावर कम्पनीलाई निर्देशन दिइसकेको श्रेष्ठले बताए। उनीहरु क्याटरिङको कामका लागि भन्दै काठमाडौं चाबहिल मित्रपार्कस्थित इम्पावर ओभरसिज प्रालिबाट सोनमार कन्ट्रक्टिङ ट्रेडिङ एडभरटाइजिङ एण्ड एडभरटाइजिङ कम्पनीमामार्फत साउदी पुगेका थिए।

साउदी पुगेयता नौ सय रियल मात्र पाएपछि नेपाली कामदारले एक दिन ड्युटी गर्न नै इन्कार गरेपछि कम्पनीले सडकमा निकालिदिएको हो।जो अलपत्र परेका छन्

खोटाङका धनीराम राई, अशोक तामाङ, अरुण तामाङ, राजन राई, जालपाका शेसन श्रेष्ठ, युवराज निरौला, डम्बर श्रेष्ठ, मेख निरौला, तेज श्रेष्ठ, नरेन्द्र श्रेष्ठ, प्रेमचन्द्र तामाङ, कमल गुरुङ, भीम तामाङ, सोलुखुम्बुका गणेश हिङमाङ, सन्तोषकुमार बस्नेत, देबेन्द्र बस्नेत, चन्द्रप्रसाद हिङमाङ, निराजन दमाई, मानबहादुर खड्का, राष्टकुमार राई, जयकुमार राई, टंकबहादुर कार्की, सिन्धुलीका चम्पक सुनुवार, दयाराम सुनुवार, भरत सुनुवार, मकवानपुरका साङ्गे ब्लोन, सूर्यबहादुर बम्जन, भोजपुरका सूर्यबहादुर तामाङ, सर्लाहीका भक्तबहादुर आलेमगर, शंकर बम्जन, म्याग्दीका डम्बर नेपाली, बाग्लुङका डम्बर सार्की, डडेलधुराका तेजबहादुर दमाई, कैलालीका नेता बन, दैलेखका दीपक गुरुङ, नारायण गिरी र रामेछापका केशव खड्का ।

काम गरेबापतको तलब असार ३१ गतेसम्ममा दिने शर्त कार्यान्वयन नभएपछि उनीहरुले एक दिन काम अस्वीकार गरेका थिए। अलपत्र युवाले युवाको उद्धारको माग गरेका छन्।

तस्बिर सौजन्य : शेषन श्रेष्ठ र सूर्यबहादुर बम्जन

Comments