९ साउन, काठमाडौं । साना बालबालिकाको शरीरमा पानीको मात्रा कम अर्थात् डिहाइड्रेसन भए उनीहरुको स्वास्थ्यमा खराब प्रभाव पार्छ । विशेष गरी गर्मी मौसम वा शारीरिक कसरतपछि शरीरमा पानीको मात्रा कम हुन्छ । त्यसैले बालबालिकाको शरीरमा पानीको मात्रा कम भए÷नभएको ख्याल गरिराख्नुपर्छ ।
जन्मदा बालबालिकाको शरीरमा तरल पदार्थको मात्रा झण्डै ७५ प्रतिशत हुन्छ । हुर्किँदै गरेका बालबालिका र वयश्यकको शरीरमा तरल पदार्थको मात्रा झण्डै ६० प्रतिशत हुन्छ । तरल पदार्थ स्वास्थ्यका लागि कति महत्वपूर्ण हुन्छ भने शरीरमा रहेका कोषहरु काम गर्न तरल पदार्थकै भर परेका हुन्छन् ।
यस्तै, शरीरलाई नचाहिने पदार्थ बाहिर निकाल्न पनि तरल पदार्थकै प्रमुख भूमिका हुन्छ । वयश्क हुन् वा बालबालिका सबैको स्वास्थ्यमा उनीहरुले लिने तरल पदार्थको मात्रा र प्रकारको असर पर्छ । बालबालिकाले लिनु पर्ने तरल पदार्थको मात्रामा विविधता छ । उमेर र लिंगका आधारमा तथा मौसम र शारीरिक गतिविधिका आधारमा यसको निर्धारण गर्न सकिन्छ ।
तर सामान्य रुपमा ४ देखि १३ वर्षसम्मका बालबालिकाले एक दिनमा ६–८ गिलास तरल पदार्थ पिउनु पर्छ । चार वर्ष भन्दा कम उमेरका बालबालिकालाई चाहिने तरल पदार्थको मात्रा कम हुन्छ ।
कुन उमेरका बालबालिकाले कति पानी पिउनु पर्छ ?
४–८ वर्षका बालबालिका : दिनको १.१ देखि १.३ लिटर
९–१३ वर्षसम्मका बालिका : दिनको १.३ देखि १.५ लिटर
९–१३ वर्षसम्मका बालक : १.५ देखि १.७ लिटर
पानीसँगै हामीले खाने विभिन्न प्रकारका अरु पेय पदार्थ, खाद्यान्न तथा फलफूलमा पनि पानीको मात्रा हुन्छ । यसले शरीरमा तरल पदार्थको मात्रा बढाउन सहयोग गर्छ । काँक्रो, खरबुजासहितका फलफूलमा पानीको मात्रा ९० प्रतिशतसम्म रहन्छ ।
बालबालिकामा डिहाइड्रेसन हुँदा देखिने लक्षण
बालबालिकामा उनीहरुको शरीरको तौलको तुलनामा पानीको मात्रा वयस्कलाई भन्दा बढी चाहिन्छ । शिशु तथा साना बालबालिका जो घामको सम्पर्कमा त्यति आउँदैन वा बाहिरको गर्मी त्यति सहनु पर्दैन, उनीहरुका लागि पनि पानीको केही मात्रा आवश्यक हुन्छ ।
गर्मी मौसम वा उनीहरु निकै सक्रिय भएको बेलामा पानी चाहिन्छ । तर बालबालिकाले आफूलाई तिर्खा लागेको सुरुवाति चरणमै थाहा पाउँदैनन् । यसले गर्दा उनीहरुमा डिहाइड्रेसन हुने खतरा बढी हुन्छ ।
मध्यम खालको डिहाइड्रेसनले पनि बालबालिकालाई आलस्य गराउँछ । उनीहरुमा थकान देखिन्छ । टाउको दुख्छ । यस्तै एकाग्रताको अभाव र मानसिक सक्रियतामा कमी तथा छाला फुस्रो हुँदै जान्छ ।
डिहाइड्रेसनबाट जोगिन के पिउने ?
बालबालिकालाई डिहाइड्रेसनबाट जोगाउनका पानी सबैभन्दा राम्रो विकल्प हो । बालबालिकालाई सुरुतिरै पानी पिउनु पर्ने पेयपदार्थ हो भनेर चिनाउनु पर्छ । योसँगै दूध, फलफूलको जुसले पनि शरीरलाई चाहिने तरल पदार्थ र अरु पोषण पनि दिन्छ ।
गुलियो नपारिएको फलफूल जुसले शरीरमा भिटामिन सी को मात्रा पनि दिन्छ । तर यस्ता जुस एसिडिक हुने र प्राकृतिक सुगर रहने भएकाले दिनको १५० मिलिलिटर भन्दा बढी दिनु हुँदैन । यस्तो जुस विशेषगरी खाना खाने बेलामा दिनुपर्छ ।
यस्तै अरु खालका एसिडिक जुसहरु बालबालिकालाई कम दिनु पर्छ वा नखुवाउनु नै राम्रो हुन्छ । त्यसका लागि अभिभावकले पनि एसिडिक पेयपदार्थ बहिस्कार गर्न सक्छन् ।
किन नखाने एसिडिक पेयपदार्थ
एसिडिक पेयपदार्थले बालबालिकाको दाँतमा रहेको इनामेलमा असर गर्छ भने गुलिया पेयपदार्थले दाँतको क्षमतामा ह्रास ल्याउँछ । पेयपदार्थकै कारण क्यालोरिको मात्रा बढ्ने भएका कारण क्याफिनको मात्रा रहने शक्तिवर्धक पेयपदार्थ बालबालिकालाई दिनु हुँदैन ।
बालबालिकालाई पानी पिउन कसरी उत्साहित गर्ने ?
अभिभावकले सन्तानसामु रोलमोडलको भूमिका खेल्न सक्छन्, त्यसका लागि आफूले दिनभर मिलाएर पानी बारम्बार पिउने गर्नुपर्छ । यसले बालबालिकामा पानी पिउने बानी बस्छ ।
बालबालिकाले पानी पिउन रुची देखाउँदैनन् भने रिसाउनुको साटो शान्त बस्नु पर्छ ।
यस्तै अरु केही उपाय पनि अपनाउन सकिन्छ, स्कुल जानुअघि पानी खुवाउने वा खान इन्करेज गर्ने, यसका लागि ब्रेकफास्टको समय वा खेल्दै गर्दा र खेलेपछिको समय प्रयोग गर्न सकिन्छ ।
नियमित रुपमा पानी पिउने हो ? भनेर सोध्ने । विशेष गरी गर्मीको समयमा यो प्रश्न नियमित गर्ने ।
पानीको मात्रा बढी भएका फलफूल, तरकारी, दूध, सुपसहितका खानेकुराको मात्रा बढाउने ।
स्कुल पठाउँदा पानी भरेको बोटल झोलामा हाल्दिने । पानी पिउनु नरुचाए पनि प्रयास भने निरन्तर गरिरहने ।
बालबालिकालाई उनीहरुको पानी पिउने कप वा बोटल रोज्न दिने । र भर्न पनि लगाउने । आइस वा कागती अथवा काँक्रोको टुक्रा पानीमा राखिदिने ।
Comments
Post a Comment