अरू खेलाडी फुटबल प्रशिक्षणमा व्यस्त, अर्जेन्टिनी कप्तान मेसी श्रीमतीसँग नाइट क्लबमा मस्त



रसिया विश्वकप फुटबल प्रतियोगिताको समाप्तिपछि धेरै खेलाडी आ–आफ्ना क्लबमा नियमित प्रशिक्षणमा लागेका छन्।

कोही खेलाडी अझै पनि बिदा मनाइरहेका छन्।

बिदा मनाउने खेलाडीमध्ये अर्जेन्टिनी कप्तान लियोनल मेसी पनि एक हुन्। रसिया विश्वकपको प्रिक्वार्टरफाइनलबाट बाहिरिएको अर्जेन्टिनाका कप्तान मेसी अहिले श्रीमती एन्टोनेला रोकुजोसँग रोमान्समा दिन बिताइरहेका छन्।

नियमितजसो मेसी दम्पती कहीँ न कहीँ पुगिरहेको हुन्छ । ब्रिटिस मिडियाले बिहीबार मेसी र रोकुजो बार्सिलोनाको एक नाइट क्लबमा झुल्किएको जनाएका छन्।

त्यहाँ उनीहरूले २ घन्टा समय खर्चिएको एजेन्सीहरूलाई उद्धृत गर्दै आजको नयाँ पत्रिका दैनिकले छापेको छ।

मेसी परिवारलाई साथ दिन सेस फाब्रिगासकी श्रीमती डानिएला सेमन पनि नाइट क्लबमा पुगिन् । डानिएला र रोकुजो बच्चैदेखिका साथी हुन्।

अक्सर मेसी बाहिर रमाइलो गर्न जाँदा सकेसम्म फाब्रिगास परिवारलाई पनि साथ लैजाने गर्छन् । यसपटक फाब्रिगास प्रशिक्षणमा व्यस्त रहेकाले उनकी श्रीमती डानिएला मात्र नाइट क्लबमा साथ दिन पुगेकी हुन्।

विश्वकपको प्रिक्वार्टरफाइनलबाटै बाहिरिएपछि मेसी आफूलाई फ्रेस बनाउन खोजिरहेका छन्।

स्पेनिस लिग पछि सुरु हुने भएकाले मेसी तत्कालै बार्सिलोनाको क्पाम्पमा आबद्ध नहुने देखिन्छ। यो समय उनी परिवारसँगै बिताउने योजनामा छन्।

यसपटक मेसीले स्पेनिस लिगमा प्रमुख प्रतिद्वन्द्वी क्रिस्टियानो रोनाल्डोसँग प्रतिस्पर्धा गर्नुपर्ने छैन।

गत साता रोनाल्डो १० करोड पाउन्डमा रियल म्याड्रिड छाडी सिरिए क्लब युभेन्टसमा आबद्ध भएका छन्।

Comments