ओली र प्रचण्डले गुगल ब्वाय आदित्य दाहालको खुलेरै तारिफ, भगवान गौतम बुद्ध जस्तै प्रतिभाका रुपमा आदित्यको जन्म नेपालमा भयो !
काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले गुगल ब्वाय आदित्य दाहालको प्रतिभा विज्ञानका लागि खोजीको विषय भएको बताउनुभएको छ । आदित्य संरक्षण प्रतिष्ठानले आज आयोजना गरेको ‘कलियुगको आदित्य ज्योतिषपथ’ पुस्तकको विमोचन कार्यक्रममा प्रधानमन्त्री ओलीले आदित्य दाहालमा गुरु र स्रोतविना नै ज्ञान हुनु आफैँमा आश्चर्यजनक भएको बताउनुभयो ।उहाँले आदित्यको दार्शनिक श्रृंखला तथा चिन्तन प्रक्रिया धार्मिक प्रक्रियासँग मेल नखाने बताउँदै आदित्यलाई आफ्नो ढंगले सोचविचार गर्न दिने र त्यो ज्ञानलाई प्रकट हुने वातावरण बनाइदिनुपर्नेमा जोड दिनुभयो । “आदित्यको शारीरिक मात्र होइन ज्ञानको पनि सुरक्षा हुनु आवश्यक छ”, प्रधानमन्त्री ओलीले भन्नुभयो, “यसका लागि सरकार सहयोग गर्न तयार छ ।”
ओलीले भन्नुभयो, ‘स्कुल नगएको, कसैले नपढाएको एउटा बालकले लेखेको पुस्तकको लोकार्पण आफैंमा एउटा अनौठो परिघटना हो ।’
आदित्यको अद्भूत क्षमता वैज्ञानिक खोज र अनुसन्धानको विषय भएको बताउँदै प्रधानमन्त्री ओलीले यसका निम्ति सरकारका तर्फबाट आफूले पहल गर्नेसमेत उल्लेख गर्नु भयो । उँहाले आदित्यमा देखिएको क्षमताको सदुपयोग हुनुपर्ने चर्चा गर्दै उनलाई व्यक्तिका भविष्यवाणी गर्नमा सिमित नराख्न आग्रह गर्नुभयो ।
‘मेरो बिहे कहिले होला ? मैले छोरा पाउँछु कि छोरी ? मेरी छोरी पास होली कि फेल ? यस्ता प्रश्नहरुबाट उहाँलाई दुःख नदिऔं’ ‘म प्रधानमन्त्री कहिलेसम्म हुन्छु भनेर मैले सोध्ने अनि म प्रधानमन्त्री कहिले हुन्छु भनेर अर्कोले सोध्ने गरेर उहाँको क्षमताको सदुपयोग हुँदैन । उहाँबाट स्वतस्फुर्त भाव एवं देश र समाज उपयोगी सन्देशहरु प्रकट हुने वातावरण बनाउनुपर्छ ।कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सांस्कृतिक एवं धार्मिकरुपमा समृद्ध नेपाललाई आर्थिकरुपमा पनि समृद्ध बनाउनुपर्ने धारणा राख्नुभयो ।आदित्यको चमत्कारिक क्षमतामा विश्वास गर्नुको अर्थ भगवान मान्ने वा मुर्ति पुजा गर्नेतर्फ फर्किनु नभएको उहालेले प्रष्ट पार्नुभयो । ‘बालज्ञानी आदित्य स्वयम्ले पनि धर्ममा भन्दा कर्ममा जोड दिनुभएको छ, कर्म गर्न छोडेर मेरो पछि लाग भन्नुभएको छैन, भगवान र मुर्ति पूजा गर्न निर्देशन दिनुभएको छैन,’ प्रचण्डले भन्नु भयो ।
नेपाल ज्ञानप्राप्तिको उर्वरभूमि भएको भन्दै प्रचण्डले भगवान गौतम बुद्ध जस्तै प्रतिभाका रुपमा आदित्यको जन्म भएको बताए । ‘सायद यो भूमिमा प्रकृतिका तरंगहरु छन्, आध्यात्मिक चिन्तन र ज्ञान प्राप्तिका दृष्टिकोणले हाम्रो भूमि भिन्न छ,’ उहाले भन्नु भयो ।
आदिमकालदेखि नै नेपाल ज्ञानको भण्डार भएको भन्दै अध्यक्ष प्रचण्डले सांस्कृतिक तवरले नेपाल समृद्ध बनाउने विषयमा सबै लागिपर्नु पर्नेमा जोड दिनुभयो ।
प्रचण्डले आदित्यको अद्भुत क्षमता आफूहरुजस्ता भौतिकवादीहरुका निम्ति ठूलो प्रश्नवाचक चिन्ह बनेको बताउनु भयो । आदित्यलाई ‘अद्वितीय प्रतिभा र विलक्षण ज्ञानका मूर्ति’को संज्ञा दिँदै उँहाले भन्नु भयो, ‘धेरै पुस्तक लोकार्पण कार्यक्रममा सहभागी भइयो, तर आजको कार्यक्रम आफैंमा अद्भूत छ ।’
Comments
Post a Comment