काठमाडौँ । महानगरीय प्रहरी विमानस्थल सुरक्षा कार्यालयले तीन हजार ३६ ग्राम सुुनसहित पाँच भारतीय नागरिकलाई पक्राउ गरेको छ।
कार्यालयले सोमबार थाई एयरबाट थाइल्याण्डको बैँककबाट काठमाडौँ आएका ईश्वर दास, अवतार सिंह, अमृतपाल सिंह, हरमिन्दर सिंह र रिजवान आवुल अन्सारीले भन्सार छलेर सुन ल्याएपछि उनीहरुलाई पक्राउ गरेको हो।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल प्रहरी प्रवक्ता प्रहरी उपरीक्षक दिनेशराज मैनालीले सुटकेशमा लुकाएर ल्याएको अवस्थामा नियन्त्रणमा लिएको जानकारी दिए।
जसमध्ये ईश्वर दासबाट ५७८ ग्राम, अवतार सिंहबाट ५७७, अमृतपाल सिंहबाट ९५५, हरमिन्दर सिंहबाट ५७८ र रिजवान आवुल अन्सारीबाट ३४८ ग्राम सुन बरामद गरेको छ।
प्रहरीका अनुसार उक्त सुनको अहिलेको मूल्य रु एक करोड ४७ लाख ८५ हजार ३२० रहेको छ। पक्राउ परेका पाँचै जनालाई आवश्यक कारबाहीका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय पठाइएको प्रवक्ता मैनालीले बताए। रासस
Comments
Post a Comment