बीबीसी । जापानको मौसम पूर्वानुमान निकायले देशमा अत्यधिक गर्मीको लहरलाई प्राकृतिक विपद घोषणा गरेको छ।
चर्को गर्मीका कारण त्यहां गत हप्तामात्रै ६५ जनाको ज्यान गएको थियो। उक्त निकायका एकजना प्रवक्ताले केही क्षेत्रमा तापक्रम अभूतपूर्व स्तरमा बढेको भन्दै चेतावनी जारी गरेका छन्।
चर्को गर्मीका कारण २२ हजारभन्दा बढी मानिसहरुलाई अस्पताल भर्ना गरिएको आकस्मिक सेवाका अधिकारीहरुले बताएका छन्। मौसम पूर्वानुमानविद्हरुका अनुसार चर्कंदो तापक्रम घट्ने कुनै संकेत देखिएको छैन।
सोमबार राजधानी टोक्यो नजिकको कुमागाया शहरमा तापक्रम ४१ दशमलब एक डिग्री सेल्सियस मापन गरिएको थियो, जुन जापानमा रेकर्ड गरिएको हालसम्मकै सबैभन्दा उच्च तापक्रम हो।
टोक्योको मध्यवर्ती भागमा पनि पहिलो पटक तापक्रम ४० डिग्री सेल्सियस भन्दा माथि पुगेको छ। जापानको मौसम पूर्वानुमान निकायले अगष्टको सुरुसम्म नै तापक्रम ३५ डिग्री सेल्सियस वा त्योभन्दा बढी रहनसक्ने भनी सावधान गराएको छ।
प्रवक्ता मोटोआकी ताकेकावाले भने, केही क्षेत्रमा पहिले कहिल्यै अनुभव नगरिएको स्तरमा गर्मी बढेको देखिएको छ र चर्को गर्मीले मानिसको जीवनलाई नै खतरामा पारेको देखिएको छ। त्यही भएर यो अवस्थालाई एउटा प्राकृतिक विपद् भनेका छौं।
उत्तरी टोक्योस्थित इबाराकी प्रान्तमा भुइँमा ढलेको अवस्थामा भेटिएकी एक जना ९१ वर्षिया वृद्धालाई अस्पताल लैजांदा उनको मृत्यु भैसकेको घोषणा गरिएको थियो।
नजिकैको साइतामामा दुई जना पाका उमेरका महिलाहरुलाई उनीहरुकै घरमा मृत फेला पारिएको थियो।
सरकारी प्रवक्ता योसिहिडे सुगाले आधाभन्दा कम सरकारी विद्यालयहरुमा मात्रै हावा चिसो पार्ने प्रणाली, एअर कन्डिशनर, जडान गरिएको हुनाले विद्यार्थीलाई सुरक्षित राख्नको लागि गर्मीको बिदाको समय लम्बाउन सकिने बताए।
एउटा पत्रकार सम्मेलनमा बोल्दै उनले भने, ‘देशैभर गर्मी बढीरहँदा स्कूले बालबालिकाको जीवन रक्षाका लागि जरूरी उपायहरुको आवश्यकता रहेको छ।’
Comments
Post a Comment