काठमाडौं, १३ फागुन — म पतिसँग यसअघि पनि झुटो बोल्थें । तर त्यतिखेर म त्यस झुटको नाफा नोक्सान थाहा पाउँथे । यतिखेर चाहिँ म इनारमा हाम्फालिरहेको जस्तो लाग्यो ।
त्यतिखेरको कुरा बेग्लै थियो । मैले पतिलाई आफ्नो तलब पनि कम बताएकी थिएँ । यसो गर्दा म पैसा जम्मा पार्न सक्थें र उसलाई रक्सीमा पैसा उडाउनबाट रोक्न सक्थें ।
मेरो यो गतिविधि पतिले थाहा पाएमा ममाथि कुटपिट हुनेछ, आँखा सुन्निनेछ, जिउ दुख्नेछ र कम्मरमा केही दाग हुनेछ भन्ने मलाई थाहा थियो । तैपनि बैंकमा फिक्स्ड डिपोजिटमा राखेको पैसा उसले निकाल्न सक्दैनथियो ।
एक भद्र महिलाले मलाई यसो गर्न सुझाव दिएकी थिइन् । नभए त बैंकमा खाता खोल्न र पैसा जम्मा गर्न मजस्ती गाउँले युवतीले के सक्नु र ?
आज पनि मैले गर्न गइरहेको कुराको बारेमा तिनै महिलाले बताएकी थिइन् । तर मलाई एकदमै डर लागिरहेको थियो । अहिले त मेरो शरीर नै दाउमा थियो । अनि अपरेसनका क्रममा मृत्यु पनि हुन सक्छ भनी मैले थाहा पाएकी थिएँ ।
Comments
Post a Comment