काठमाडौं। संसदीय सुनुवाई विशेष समितिले प्रधानन्यायाधीशमा सिफारिस गरिएका दिपकराज जोशीको सुनुवाई आगामी बिहीबार गर्ने निर्णय गरेको छ।
संसदीय सुनुवाई विशेष समितिको सोमबार बसेको बैठकले प्रधानन्यायाधीशमा सिफारिस गरिएका सर्वोच्च अदालतका कायममुकायम प्रधानन्यायाधीश जोशीको सुनुवाई आगामी १० गते बिहिबार गर्ने निर्णय गरेको हो। सिंहदरबारमा बसेको समितिको बैठकले जोशीमाथि परेको उजुरीमाथि आजैबाट छानवीन पनि सुरु गरेको छ।
भोलि (मंगलबार) उजुरीकर्तासँग छलफल गर्नेगरी समितिले प्रधानन्यायाधीशमा सिफारिस गरिएका जोशीको उजुरीमाथि छानवीनको काम सुरु गरेको हो। जोशीविरुद्ध ५ वटा उजुरी परेका छन्। सो उजुरीमाथि स्पष्टिकरण लिन समितिले मंगलबार अपरान्ह उजुरीकर्ताहरुसँग छलफल गर्ने निर्णय पनि गरेको समितिका जेष्ठ सदस्य लक्ष्मणलाल कर्णले जानकारी दिए।
समितिको गत श्रावण ३ गते बसेको बैठकले सरकारले प्रधानन्यायाधीशमा सिफारिस गरिएका जोशीको सुनुवाई प्रक्रिया सुरु गरेको थियो। संसदीय सुनुवाई विशेष समितिले अनुमोदन गरेपछि प्रधानन्यायाधीशमा सिफारिस जोशीलाई राष्ट्रपति विद्या भण्डारीले नियुक्त गर्ने संवैधानिक व्यवस्था छ।
Comments
Post a Comment