बंगलादेशमा एमबीबीएस अध्ययनरत नेपाली छात्राबारे दिएको अभिव्यक्तिकै कारण मन्त्री तामाङको पदबाट राजीनामा !



काठमाडौं । बंगलादेशमा एमबीबीएस अध्ययनरत नेपाली छात्राबारे दिएको अभिव्यक्ति विवादमा परेपछि कानून, न्याय तथा संसदीय मामिला मन्त्री शेरबहादुर तामाङले पदबाट राजीनामा दिनु भएको छ ।मन्त्रालयमा आज आयोजित पत्रकार सम्मेलनमा घोषणा गरी तामाङले प्रधानमन्त्री केपी शर्मा ओलीलाई राजीनामा बुझाउनु भएको हो । राजीनामा घोषणा गर्दा निकै भावुक बन्नुभएका तामाङले जनतालाई शिरमा राखेर काम गरेको तर, आफ्ना कमजोरीलाई नै मुख्य मुद्दा बनाएर प्रचार गरिएको भन्दै गुनासो व्यक्त गर्नुभएको थियो ।

महिला अधिकारका कुरा उठाउने आफूलाई त्यही विषयले लखेटेको भन्दै तामाङले पदभन्दा पनि प्रतिष्ठा कायम राख्नुपर्छ भन्ने मान्यताका साथ नैतिकताको आधारमा राजीनामा दिएको सञ्चारकर्मीलाई अवगत गराउनु भएको थियो ।

विवादास्पद अभिव्यक्तिको आलोचना भएपछि मन्त्री तामाङले विज्ञप्ति जारी गर्दै माफी मागेका थिए । तर, आलोचना नरोकिएपछि यो मुद्दाले सरकार र पार्टीलाई बदनाम गर्ने भन्दै सत्तारुढ दल नेकपाले तामाङलाई राजीनामा दिन निर्देशन दिएको थियो ।

केही अघि एक विद्यालयको कार्यक्रममा नेपालमा मेडिकल कलेज खोल्नुपर्छ भन्ने मतलाई पुष्टि गर्न मैले सुनेको छु भन्दै तामाङले बंगलादेशमा एमबीबीएस अध्ययनरत नेपाली छात्राले ‘सर्टिफिकेट’ पाउन अस्मिता बेच्न बाध्य भएको दाबी गरेका थिए ।

Comments