गगन थापाको सडकबाट उद्घोष : बंगलादेश, चीन र फिलिपिन्स गएका बिद्यार्थी पैसा दिएर भर्ना भएपछि एमबीबीएसको सर्टिफिकेट आउने ग्यारेन्टी पहिला हातमा लिएर पढ्न गएका हुन्’ (भिडियोसहित)

नेपाली कांग्रेसका युवा नेता तथा पूर्व स्वास्थ्यमन्त्री गगन थापाले विदेशमा चिकित्सा शिक्षा अध्ययन गर्न गएका नेपालीहरु स्वदेशमा पढ्न नपाएर नभई पैसामा प्रमाणपत्र लिनका लागि गएको बताएका छन् ।
बंगलादेशमा चिकित्सा शास्त्र पढीरहेका बिद्यार्थीका वारेमा असंवेदनशिल टिप्पणीका कारण कानुनमन्त्री शेरबहादुर तामाङले राजिनामा दिएको भोलिपल्ट थापाको यो भनाई यतिबेला सामाजिक सञ्जालमा भाइरल बनेको छ ।‘बाहिर पढ्न जाने मध्ये केही छात्रवृतिमा गएका हुन । तर ९० प्रतिशत बाहिर गएका बिद्यार्थी नेपालमा पढ्न नपाएर होइन । बंगलादेश गएका, चीन गएका र फिलिपिन्स गएका बिद्यार्थी पैसा दिएर भर्ना भएपछि एमबीबीएसको सर्टिफिकेट आउने ग्यारेन्टी पहिला हातमा लिएर पढ्न गएका हुन्’ थापाले भनेका छन् ।
नेपालमा चिकित्सा शिक्षा पढ्न नपाएर नभई विदेश जाँदा पैसामा सजिलै एमबीबीएसको प्रमाणपत्र पाइने भएकाले गएका हुन् भन्ने आपत्तीजनक अभिव्यक्ति थापाले दिएका हुन् । त्यसमा पनि उनले चीन, बंगलादेश र फिलिपिन्समा डाक्टरको प्रमाणपत्र सहजै पाउने र त्यसका लागि पढ्न नपर्ने आशय राखेर त्यहाँबाट पढेका डाक्टरहरुको योग्यता र क्षमतामाथि गम्भीर प्रश्न उठाएका छन् ।
डा. गोबिन्द केसी अभियानका एक राजनीतिक प्रबक्तासमेत रहेका थापाले चिकित्सा शिक्षाको सुधारका लागि आफू स्वास्थ्यमन्त्री हुँदा केही गर्न नसकेपनि प्रचार भने निकै गरेका थिए । केसीको माग सम्वोधन गर्न नसकेका उनले आफू सरकारबाट हटेपछि भने फेरी यो मुद्दालाई उठाएर राजनीति गरिरहेका छन् ।
अभिभावकले दुःख गरेर ती देशमा एमबीबीएस गर्न पठाएका र फर्केर आएका डाक्टरहरुमाथिको यो अभिव्यक्तिको तिब्र आलोचना भएको छ । कानुनमन्त्री तामाङले मन्त्री पद्बाट राजिनामा दिएर आफ्नो नैतिकता प्रदर्शन गरेका छन् भने सांसद थापाले यस्तो आपत्तीजनक अभिव्यक्तिलाई कसरी सच्याउलान् ? यो प्रश्नमा वहस भइरहेको छ ।
Comments
Post a Comment