ओलीको अर्को बोली : अब चिनबाट आउने रेलमा नेपालले मिनिरल वाटर पठाउने !



काठमाण्डु, ४ असोज– प्रधानमन्त्री केपी शर्मा ओलीले गण्डकी प्रदेशलाई पहिलोपटक बिहीबार सम्बोधन गरे।

दिउँसो १२ः४० बजे संसदमा सम्बोधन गर्ने कार्यक्रम रहे तापनि उपस्थित सांसद, सर्वसाधारण, पत्रकार सबैलाई उनले साढे २ घण्टा कुराएपछि मात्र संसदमा उपस्थित भएका थिए ।

बिहीबारको पहिलो संसद बैठकमा नै सम्बोधन गर्ने क्रममा उनले रेल र पानीजहाजका कुरा नै दोहोर्याए। गण्डकी प्रदेशको सम्भावनाको विषयमा बोल्ने अनुमान गरिए तापनि उनले अन्यत्रै बोलिसकेको कुरा गर्न सवा घण्टा खर्चिए। सम्बोधनको सुरुवाती क्रममा गण्डकी प्रदेशको प्रशंसा गरे तापनि रेल र पानीजहाजमा नै उनले जोड दिए।

रेललाई नै जोड दिएका ओलीले त्यसमा मिनिरल वाटरलाई जोडे। उनले भने, ‘हाम्रोमा बाहेक मिनरल वाटर कुनै देशमा बन्दैन। छानेको पानी मिनरल वाटर बन्छ ? थपे– खोलामा बगेको पानी बोतलमा भरेर बेच्यो भने मात्रै देश धनी बन्छ। रेल चलाएपछि ल्याउने सामान अरु होला तर पठाउने वस्तु मिनरल वाटर हो।’

गण्डकी प्रदेश हिमालसँग जोडिएको र हिमालको पानी किटनाशक हुने हुँदा नेपालीले पानीलाई पनि बेच्न सकिनेमा उनले जोड दिए। पहराबाट मिनिरलसहितको पानी बग्ने भन्दै संसारमा नेपालको जस्तो पानी नपाइने दाबी गरे। ‘हामीले बोतलको पानी पिउन मजा मान्छौँ, तर लेकको पानी यत्तिकै पनि पिउन सकिन्छ, त्यसमा मिनरल पनि हुन्छ, उताबाट रेलले सामान लिएर आउँछ, यताबाट हामीले मिनरल वाटर पठाउन सक्छौँ’, उनले भने।

Comments