भैरे, पण्डित बाजेको लौरी र चक्कर प्रदर्शनमा

आज शुक्रबारदेखि तीन नेपाली चलचित्र एकसाथ प्रदर्शनमा आएका छन्। चलचित्र भैरे, पण्डित बाजेको लौरी र चक्कर आजबाट प्रदर्शनमा आएका हुन्।
एभरेस्ट सूर्य बोहोराको निर्माण, निर्देशनमा बनेको भैरेमा दयाहाङ राई, बुद्धि तामाङ, वर्षा शिवाकोटी, सुरक्षा पन्त, विक्रान्त बस्नेत, अनुभव रेग्मीलगायत कलाकारले अभिनय गरेका छन् । स्वदेशमै केही गर्न चाहानेहरुलाई प्रशस्त शम्भावना रहेको कथामा चलचित्र बनेको निर्माणपक्षले बताएको छ। चलचित्रलाई प्रेमप्रसाद पौडेल र देवीमाया अधिकारीले निर्माण गरेका हुन्।
त्यस्तै यसै साता प्रदर्शनमा आएको चलचित्र ‘पण्डित बाजेको लौरी’लाई दीपक ओलीले निर्देशन गरेका हुन्। प्रवीण खतिवडा, सन्ध्या केसी, भोला सापकोटा, विजय बराल, लोकेन्द्र लेखक, मरिश्का पोखरेल, प्रमोद अग्रहरीलगायत कलाकारले अभिनय रहेको यो चलचित्रमा पश्चिम नेपालको बादी समुदायको पेसा, सामाजिक अवस्था र अस्तित्वको संघर्षको कथा प्रस्तुत गरिएको छ।
चलचित्रको निर्माताका रुपमा थमन भण्डारी र किशोर खड्का रहेका छन्। त्यस्तै आजबाट प्रदर्शनमा आएको अर्को चलचित्र ‘चक्कर’ भने सहरमा हुने गरेको गुन्डागर्दी तथा अपराधको विषयमा निर्माण गरिएको छ। अर्पण थापा, ऋचा शर्मा, भोलाराज सापकोटा, सिर्जना सुब्बा, स्मृति पोखरेललगायतले अभिनय गरेको चलचित्रलाई अनुष्का रौनियारले निर्देशन गरेकी हुन । चलचित्रलाई रबिन आचार्यले निर्माण गरेक हुन्।

Comments